काठमाडौँ, ०२ भदौ। अविरल वर्षाका कारण भोटेकोसी नदीमा आएको बाढीले रसुवामा पुल बगाएको छ। बाढीले टिमुरे भन्सार कार्यालय÷सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने पुल बगाएको हो।
बाढीको चाप बढ्दै गएपछि सडक नै कटान गरे पुल बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। बाढीले पुल नै बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्गको सम्पर्क टुटेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।
बाढीले रसुवा भन्सार र जलविद्युत् आयोजनाको सामान बोक्न प्रयोग हुँदै आएका करिब ३ दर्जन गाडी जोखिममा परेका थिए। तर, राति नै नदी किनाराका गाडी सुरक्षित स्थानमा सारिएकाले थप क्षति हुनबाट जोगिएको प्रशासनले जनाएको छ।
तिब्बतबाट बगेर आउने भोटेकोसीको सतह एक्कासी ५ मिटरसम्म बढेको प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए। ‘त्यसलगत्तै भन्सारमा रहेका ट्यांकरलाई राति नै सुरक्षित स्थानमा सारियो,’ उनले भने। सम्भावित दुर्घटनालाई मध्यनजर गरेर प्रशासनले पावर हाउसको पावरसमेत कटअफ गरेको उनले बताए।
नदीमा बहाव बढेपछि स्याफ्रुबेँसी, गुमचेत, मैलुङ, पहिरोबेसी, शान्तिबजारदेखि खाल्डेसम्मका वस्ती जोखिममा परेपछि त्यहाँका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सारिएको उनले बताए। बाढीको बहाव राति बढे पनि अहिले भने सामान्य अवस्थामा आएपुगेको प्रजिअ भण्डारीले जानकारी दिए।

























