लमजुङ, ०२ भदौ। ‘देवानी संहिता ऐन–२०७४’ अर्थात् नयाँ मुलुकी संहिता कार्यान्वयन भएपछि लमजुङमा १९८ जोडीले सम्बन्धविच्छेदका लागि मुद्धा दर्ता गरेका छन्। लमजुङ जिल्ला अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीका अनुसार यो तथ्यांक नयाँ कानून लागू भएको एक वर्षको अवधिको हो।
विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानून लागू भएसँगै महिलाजस्तै पुरुषलाई पनि सहज भएपछि जिल्लामा सम्बन्धविच्छेद गर्ने पुरुष बढ्दै गएका उनले बताए। नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै गत भदौदेखि चालू आर्थिक वर्षको साउनसम्ममा जिल्ला अदालतमा परेका सम्बन्धविच्छेदका मुद्दामध्ये ५१ जना पुरुषद्वारा सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेका छन्।
तीमध्ये १४ सम्बन्धविच्छेद भइसकेका छन् भने ३० मुद्दा फैसला हुन बाँकी छ। अदालतका श्रेस्तेदार भण्डारीका अनुसार नयाँ कानून लागूभएदेखि साउन समान्तसम्ममा १४७ जना महिलाद्वारा सम्बन्धविच्छेदका मुद्दा दर्ता गराइएको थियो। तीमध्ये १२० सम्बन्धविच्छेदका मुद्दा फछ्यौँट भई सबै मिलापत्र गरिसकिएका उनले बताए। २७ मुद्दा भने फैसला हुन बाँकी रहेको उनले बताए।
एक वर्षको अवधिमा महिला र पुरुष गरी १९८ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ६४ मुद्दाको फैसला हुन बाँकी छ। दुवै पक्षले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरे पनि दुईमध्ये एक जनाले सम्बन्धविच्छेद गर्न नचाहेमा उक्त मुद्दाको छिनोफानो हुन एकवर्ष लाग्ने उनले बताए।
पारिवारिक कारण, वैदेशिक रोजगार, विदेशीको नक्कल, बालविवाह, बहुविवाह, इन्टरनेटको बढ्दो प्रयोग, देखावाटीजस्ता कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएका अदालतले जनाएको छ। बालबिवाह, इच्छा विपरीत विवाह, वैदेशिक रोजगारलाई कम गर्न सकिएमा सम्बन्धविच्छेदका घटनामा कम आउने नेपाल बार एशोसियशन लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए। –रासस


























