पाँचथर, २७ साउन। कुरा गत असार १० गते रातिको हो। चौरासी वर्षिय नरबहादुर राईले अकस्मात जमिन हल्लिएको थाहा पाए। राम्रोसँग देख्न र सुन्न नसक्ने उनलाई छोरा–बुहारीले घर बाहिर निकालेर घरमाथिको डाँडोमा पुर्याए। त्यसपछि राई परिवार अहिलेसम्म त्यही डाँडोमा त्रिपालमुनि बस्दै आएको छ। राई अस्वस्थ भएको धेरै भइसक्यो। त्यसैले त्रिपालमुनिको बासले झनै समस्यामा परेका छन्।
बुहारी जसमाया ससुरा नरबहादुरको स्याहारमा दिनरात खटिएकी छन्। जङ्गलको बीचमा टहरोमुनि बस्दै आएको यो परिवार तत्काल घर फर्किने अवस्थामा छैन। उनको घरलाई चारैतिरबाट पहिरोले घेरेको छ। त्यसैले पनि तत्काल घर फर्किने अवस्था नरहेको जसमायाँ बताउँछिन्। नरबहादुरलाई पत्थरी र मधुमेह देखा परेको छ। शरीरमा रोग पालेर त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य भएको नरबहादुरको गुनासो छ। पहिरोले घरबास उठाएको यो परिवार सरकारले केही गरिदेला कि भन्ने आसमा छ।
पहिरोकै कारण विस्थापित भएका उनीहरू सबै जङ्गलको बीचमा त्रिपालको सहारामा दिन गुजार्न बाध्य छन्।
नरबहादुर राईको परिवार त केवल उदाहरण मात्र हो। पाँचथर जिल्लाको याङवरक गाउँपालिका–२ फलैँचाको चिङ्मा र सेपी बस्तीका १७ परिवारको अवस्था पनि नरबहादुरको जस्तै छ। पहिरोकै कारण विस्थापित भएका उनीहरू सबै जङ्गलको बीचमा त्रिपालको सहारामा दिन गुजार्न बाध्य छन्।
बस्तीमा जताततै पहिरो जान थालेपछि स्थानीयले घर छाडेका हुन्। अन्न उत्पादन गर्ने बारीसमेत पहिरोले बगाएपछि स्थानीय थप चिन्तित छन्। विस्थापितलाई सुरक्षित स्थानमा राखिदिन सरकारसँग माग गर्दै आएका छन्। तर, स्थानीय सरकार भने तत्काल अन्यत्र सार्न सकिने अवस्था नभएको बताउँछन्। ‘अहिले तत्काल अन्यत्र लैजान सकिने अवस्था छैन,’ याङवरक गाउँपालिका–२ का वडा सदस्य प्रेमकुमार राईले भने, ‘यसबारे हामी गम्भीर भएर लागेका छौँ।’
याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले विस्थापितलाई एकीकृत बस्ती निर्माण गरी पुनःस्थापना गर्ने योजना रहेको बताए। उनका अनुसार वडा नं १ का अध्यक्ष मोहनकुमार ढुङ्गेलको संयोजकत्वमा तीन सदस्यीय जग्गा खोजी समितिसमेत गठन गरिएको छ। पहिरोले घरबास नै उठाएपछि यहाँका बालबालिकालाई विद्यालय जानसमेत समस्या भएको छ।


























