मकवानपुर, २२ साउन। हेटौँडा उप–महानगरपालिकाले डेङ्गु नियन्त्रणको लागि पहल थालेको छ। डेङ्गुले महामारीको रुप लिन थालेपछि बुधबार कार्यपालिकाको बैठक बसेर प्रत्यक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने निर्णय गरेको हो।
बुधबारै डेङ्गु नियन्त्रणका लागि टोल विकास संस्था नगर समन्वय समितिसँग अन्तरक्रियासमेत गरिएको उप–महानगरपालिकाले जनाएको छ। विगतका वर्षहरुमा मकवानपुरमा डेङ्गुले महामारी रूप नलिए पनि योवर्ष महामारीको रुप लिँदै गएको उप–महानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए।
एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग सर्दछ। जसबाट यही साउन महिना लागेदेखि बुधबारसम्म २२ दिनमा हेटौँडा उप–महानगरपालिका क्षेत्रभित्र मात्रै ६२ जना बिरामी परेका छन्। बिरामीको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
हेटौँडामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेपछि यसबाट बच्न जनचेतना जगाउँदै लामखुट्टे बस्ने र प्रजनन गर्न सक्ने सम्भावित क्षेत्रको पहिचान गरी नष्ट गर्ने काम सुरु गरिएको प्रमुख महतले बताए। डेङ्गुबाट बच्न चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका छन्। शरीर छोप्ने कपडा लगाउने र राति सुत्दा अनवार्य झुलको प्रयोग गर्न पनि सर्वसाधारणलाई चिकित्सकले आग्रह गरेका छन्।