चितवन, २२ साउन। सोमबार राति चितवनको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणबारे गलत प्रचार गरेको भन्दै हल्लाको पछि नदौडिन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ। विभिन्न सामाजिक सञ्जाल एवम् विभिन्न अनलाइन सञ्चार माध्यमले प्रहरी अनुसन्धानलाई प्रभावित पार्ने गरी गलत प्रचार गरेको भन्दै जि.प्र.का चितवनले प्रेस नोट मार्फत् ‘अनुसन्धान भइरहेको’ मात्रै जनाएको छ। प्रेस नोटमा ‘शव परीक्षणको लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंज, काठमाडौं पठाइएको, अन्य अनुसन्धान कार्य जारी रहेको’ जनाइएको छ।
यस सम्बन्धमा बुझ्दा कार्यालयका प्रबक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले लगातार न्यूजलाई भने, ‘अडियो भिडियोको विषयमा हामीलाई थाहा छैन। तपाइँले जसबाट सुन्नुभयो, उसैसँग बुझ्नुस्। बाँकी कुरा पोष्टमार्टम रिपोर्ट पछि मात्रै भन्न सकिन्छ।’ नुवाकोट वेलकोटगढी नगरपालिका वडा नं. ३ स्थायी घर भइ हाल काठमाडौं स्थित माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी सोमबार राति चितवनको भरतपुर महानगरपालिका वडा नं. १, पोखरा बसपार्कको होटल कङ्गारूमा कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
उक्त घटनालाई परिवारजनले यसलाई हत्या भएको दाबी गरेको छ। घटना पश्चात् विभिन्न अनलाइन सञ्चार माध्यमले पत्रकार पुडासैनीले केही पत्रकारको नाम जोडेर ‘सुसाइड भिडियो’ बनाएको भन्ने समाचार प्रकाशन गरेका थिए।


























