काठमाडौँ, १९ साउन। सभामुख कृष्णबहादुर महराले आइतबार दलका नेताहरूसँग छुट्टाछुट्टै भेटबार्ता गरेका छन्। प्रतिनिधिसभाको जारी अवरोध खुलाउन सभामुख महरा दलका नेताहरुसँग छुट्टाछुट्टै छलफलमा लागेका हुन्।
सभामुख महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदस्य दलका उपनेता विजयकुमार गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, प्रतिपक्षी राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र नेता लक्ष्मणलाल कर्ण तथा सत्ता पक्षका तर्फबाट प्रमुख सचेतक देव गुरूङसँग आफ्नै कार्यकक्षमा छुट्टाछुट्टै छलफल गरेका हुन्।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँग भने अबरोध हटाउन सत्तापक्षबाट पहल गर्न टेलिफोनबाटै बार्ता गरिएको सभामुख महराको सचिवालयले जनाएको छ। छलफल सकारात्मक भएकोले गत सोमबारदेखि जारी गतिरोध खुल्ने सभामुख महराले आशा व्यक्त गरे।
प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेको लागि बोलाइएको छ। साउन १६ गते बसेको सर्वदलीय बैठकले सहमतिका लागि प्रयास गर्ने निर्णय गरेअनुसार सो दिनको बैठक सूचना प्रकाशित गरी स्थगन गरिएको थियो।