काठमाडौँ, १८ साउन। नेपालमा तोकिएकै समयभित्र काम सकाएका आयोजना सायदै होलान्। सानादेखि ठूला विकासका आयोजनामा विभिन्न बहाना बनाएर आलटाल गर्दै एकवर्षमा सक्नुपर्ने काम पनि वर्षौँ लगाइदिएको रेकर्ड हाम्रासामु प्रशस्तै छन्। काम गर्नेभन्दा बढी कुरा गर्ने परिपार्टीले देश विकासले गति लिन नसकेको भनेर चौतर्फी सरकारको आलोचना भइरहन्छ।
तर, पछिल्लो समय नेपालमा केही उदाहरणीय काम पनि हुन थालेको छ। कुनै समय १८ घण्टासम्म लोडसेडिङको मार खेपेका नेपाली जनता अहिले त्यो समस्याबाट मुक्त भएका छन्। देशमा एकजना कर्मठ नागरिकको जन्म भए जनताले सुखानुभूति गर्दोरहेछ भन्ने उदाहरण हो यो। जब कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएर आए, त्यसपछि विद्युत कटौतीको अन्त्य भयो र जनताले पनि उनलाई जयजयकार गर्न थाले।
यसरी जनताबाट लोकप्रियता कमाएका उनै घिसिङको पहलमा आज देशकै ठूलो क्षमताको जलविद्युत आयोजना निर्माण पूर्णरुपमा सम्पन्न भएको छ। लामो समयदेखि विभिन्न समस्या खेप्दै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले बल्ल पूर्णता पाएको छ।
गत जेठ २ गतेबाट नै आयोजनाको पहिलो युनिट सञ्चालनमा आएको आयोजनाको दोस्रो युनिट पनि चलेपछि आयोजनाबाट कूल ६० मेगावाट विद्युत् उत्पादन भएको छ। आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहबाट २२० केभी क्षमताको प्रसारण लाइनमार्फत काठमाडौँको मातातीर्थमा रहेको सबस्टेशनमा जोडिएको छ। लामो प्रयासपछि प्राप्त भएको सफलताले प्राधिकरणको नेतृत्व र आयोजनालाई समेत हर्षित तुल्याएको छ।
आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने अभियानको नेतृत्व गर्न शनिबार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ आयोजनास्थल नै पुगर प्राधिकरणका कर्मचारी, निर्माण व्यवसायी र परामर्शदातासँग खुसी साट्न भ्याए। आयोजनास्थल नुवाकोट र रसुवाको सीमामा पुगेका घिसिङले दैनिकजसो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रश्न, सार्वजनिक सरोकार राख्ने निकायको चासो, आयोजनाका कर्मचारीको मेहनत र प्राधिकरणको निरन्तरको प्रयासपछि बल्ल खुसीको अनुभूति गर्न पाएको प्रतिकृया दिए।
प्राधिकरणका सबै क्रोनिक आयोजना पूरा भए भन्ने स्थानमा आइपुगेकोले थप सुखद् भविष्यका लागि मार्ग प्रशस्त गरेको उनले बताए। बुधबारदेखि सुरु भएको आयोजनाको दोस्रो युनिटको पनि सफलतापूर्वक परीक्षण सकिएकोले केही दिनपछि व्यावसायिक उत्पादन सुरु हुने कार्यकारी निर्देशक घिसिङले बताए। आयोजना पूर्ण क्षमतामा चलेपछि दैनिक एक करोड ५० लाख रुपैयाँ बराबरको कमाइ गर्न सकिने उनको भनाइ छ।
माथिल्लो त्रिशूली थ्री एको विद्युतले राष्ट्रियरुपमा आठ प्रतिशतको हिस्सा राख्दछ। प्राधिकरणको मात्रै हिसाब गर्ने हो भने २० प्रतिशतको हाराहारीमा पुग्ने प्राधिकरणले जनाएको छ। विसं २०६७ जेठ १४ मा ठेक्का सम्झौता भएको आयोजना सुरुमा २०७१ साल जेठ १७ गते सक्ने लक्ष्य राखिएको थियो। क्षमता बढाउने विवाददेखि भूकम्प, नाकाबन्दीको समस्यामा फसेको आयोजना ११ वर्षपछि सकिएको छ। प्राधिकरण चिनियाँ कम्पनी गेजुवाबीच आठ करोड ९१ लाख ७८ हजार अमेरिकी डलरमा सम्झौता भएको थियो।