
विभिन्न कालखण्डहरूमा पत्ता लागेका यौनरोगको बारेमा हामी पढ्दै, सुन्दै र भोग्दै आइरहेका छौं। एच्.आई.भी. एड्स, भिरिङ्गी (Gonorrhoea), सुजाक (Syphilis) जस्ता रोगहरू अहिले विश्व समुदायमा परिचित यौनरोगहरू हुन्। समयको बदलावसँगै सामान्य तथा जटिल प्रकृतिका रोगहरूको संख्या बढ्दै गएको छ। पछिल्लो समयमा नयाँनयाँ यौनरोगहरू पनि पत्ता लागिरहेका छन्। यस्तै केही नयाँ यौन रोगहरूको बारेमा तल चर्चा गरिएको छ।
१. नेसेरिया मेनिन्जिटाइड्स (Neisseria Meningitidis)
मानिसको मष्तिस्कलाई सुरक्षित राख्ने एकखालको झिल्ली हुन्छ, जस्लाई मेनेन्जेज (Meninges) भनिन्छ। यही झिल्लीमा हुने एक प्रकारको सङ्क्रमणलाई मेनेन्जाइटिस (Menengitis)भनिन्छ। यो सङ्क्रमण गराउने अति सुक्ष्म जिवाणुलाई नेसेरिया मेनिन्जिटाइड्स (मेनेन्जोकोकस Menengococcus) भनिन्छ। यो एक प्रकारको ग्राम नेगेटिभ ब्याक्टेरिया हो। यसले विशेष गरी मानिसको मेरुदण्ड र मष्तिस्कमा हुने झिल्लीमा सङ्क्रमण गराउँछ र कडा खालको मेनेन्जाइटिस लगाउँछ। यसले मानिसको मुत्रनली र यौनाङ्गबाट सङ्क्रमणको सुरुवात गर्छ र विस्तारै विकसित हुँदै अन्यत्र फैलिन्छ। असुरक्षित यौनसम्पर्कको माध्यमबाट सजिलै सर्ने यो रोग विशेष गरी यौनसम्पर्कको समयमा मुखमैथुन गर्नेहरूमा सर्ने सम्भावना बढी हुन्छ भने थुक तथा र्यालहरूको माध्यमबाट पनि सर्न सक्छ। एक अध्ययनअनुसार करिब ५-१० प्रतिशत वयस्कहरूको नाक र घाँटीमा नेसेरिया मेनिन्जिटाइड्स रहेको हुन्छ।
नेसेरिया मेनिन्जिटाइड्स र नेसेरिया गोनोकोकस (भिरिङ्गीको कारक ब्याक्टेरिया) ब्याक्टेरियामा वंशानुगत गुणहरू समान हुन्छन्। तसर्थ सङ्क्रमणको सुरुवात पनि यौनाङ्गबाट हुने गर्छ। मुख्यतः यौनाङ्गको वरिपरि चिलाउने, ज्वरो आउने, टाउको दुख्ने, थकित हुने, घाँटी यताउता चलाउन गाह्रो हुने लक्षणहरू देखा पर्छन्। यस रोगबाट बँच्नको लागि सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरूले लक्षण देखिनुपूर्व नै औषधि सेवन गर्न सकिन्छ भने रोगग्रस्त क्षेत्रमा जानुपूर्व मेनेन्जोकोकल भ्याक्सिन प्रयोग गर्न सकिन्छ। यो रोग देखिसकेपछि भने निरनतररूपमा एन्टिबायोटिक प्रयोग गरेपछि निको हुँदै जान्छ।
२. माइकोप्लाज्म जेनेट्यालियम् (Micoplasm Genetalium)
सन् १९८० मा पत्ता लागेको सुक्ष्म ब्याक्टेरिया माइकोप्लाज्म जेनेट्यालियम् मानव यौनाङ्गको इपिथेलियल स्नायुहरूमा सङ्क्रमण गराउने खतरनाक यौन रोग हो । विशेषतः यो रोग यौनसम्पर्कको माध्यमद्वारा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ। अहिले विश्वमा करिब २ प्रतिशत जनसंख्यामा यसको सङ्क्रमण पाइएको छ। खासगरी किशोरावस्थामा रहेका जनसंख्या बढी प्रभावित भएका छन्। यस प्रकारको सङ्क्रमणमा खास पहिचान गर्न सकिने लक्षणहरू देखा पर्दैनन्। एक अध्ययनअनुसार पुरूषहरूमा निरनतर मुत्र प्रणालीमा असजिलो हुन्छ र महिलाहरुमा गोनोरिया (भिरिङ्गी) मा जस्तै समस्या देखिन्छ (पिसाब पोल्ने, यौनाङ्ग वरिपरि दुख्ने तथा चिलाउने, सेतो र गन्हाउने पानी बग्ने)। महिलाको भजाइनल स्वाब र पिसाब परीक्षण गरेर मात्रै यो रोगको पहिचान गर्न सकिन्छ। यो रोग लागिसकेपछि महिलाहरूमा बाँझोपन हुने, गर्भ खेर जाने तथा समय नपुगी बच्चा जन्मिने जस्ता जटिल समस्याहरु निम्त्याउँछ।
असुरक्षित यौनसम्पर्कबाट टाढा रहनु वा कण्डमको प्रयोग गर्नु यो रोगबाट बँच्ने उपाय हो। यो रोग देखिइसकेपछि भने एन्टिबायोटिक औषधिको प्रयोग गरिन्छ। यद्दपि एजिथ्रोमाइसिन (Azithromycin) र डक्सिसाइक्लिन (Doxycyclin) नामक मुख्य औषधिहले निको हुँदैन। यो ब्याक्टेरिया यी दुई औषधिको प्रतिरोधी भएसँगै अरू एन्टिबायोटिकहरूको पनि प्रतिरोधी हुने खतरा बढेको केही अनुसन्धानहले पुष्टि गरेका छन्। यसरी ब्याक्टेरियाह औषधि प्रतिरोधी हुनु भनेको रोगको सङ्क्रमण दर निरन्तर बढ्नु हो।
३. सिगेला फ्लेक्सनरी (Shigella Flexneri)
मानिसमा पखला लगाउने एक मुख्य कारक तत्व सिगेला फ्लेक्सनरि हो। यो एक प्रकारको ग्राम नेगेटिभ ब्याक्टेरिया हो। यसलाई छोटकरीमा एस्. फ्लेक्सनरी भनेर पनि बुझिन्छ। यसको सङ्क्रमणबाट हुने समस्यालाई सिगेला डिसेन्ट्री (Shigella Desentry) भनिन्छ। एक अध्ययनअनुसार विशेष गरी बालबालिका, कम आय भएका र फिरन्ते व्यक्तिहरूमा यसको प्रकोप देखिएको छ। मुख्यतः अत्याधिक पेट दुख्ने, रगत तथा मासी मिसिएको पातलो दिसा आउने लक्षणहरु देखिन्छन्। अहिले पछिल्लो समयमा यौनसम्पर्कमा सहभागी हुने महिला तथा पुरूषहरूमा पनि सिगेला फ्लेक्सनरिको सङ्क्रमण बढिरहेको छ। यौनसम्पर्कको समयमा मुखमैथुन गर्नेहरूमा सजिलै मुखको माध्यमबाट पेटमा यो ब्याक्टेरिया पुग्छ र छिटै नै असर पुर्याउछ। अमेरिकाको न्युयोर्क डिपार्टमेन्ट अफ हेल्थ एण्ड मेन्टल हाइजिनका अनुसार यौनसम्पर्कको माध्यमबाट सर्ने रोगहरू एन्टिबायोटिक प्रतिरोधी बनिरहेका कारण रोकथाममा समस्या बढिरहेको छ। यस रोगमा औषधिको उपचारभन्दा पनि केही समयमै निको हुने सिगेला फ्लेक्सनरिको गुणलाई सहनु ठिक हुन्छ।
४. लिम्फोग्रानुलोमा भेनेरम (Lymphogranuloma Venereum)
क्लामाइडिया ट्रकोमाटिस (Chlamydia Trachomatis) ब्याक्टेरियाको विभिन्न सेरोटाइप्सहरू (Serovas L1,L2,L2a,L3) को सङ्क्रमणबाट लिम्फोग्रानुलोमा भेनेरम रोग लाग्छ। यसलाई छोटकरीमा एल्.जि.भि. भनिन्छ। विशेष गरी यौनसम्पर्कको माध्ययमबाट सर्ने यो रोग अहिलेको दशकमा युरोप तथा उत्तर अमेरिकामा बढ्दो छ। यौनाङ्गमा स-साना फोकाहरू आउँछन् र फुट्दै गएपछि मानिसको शरीरमा हुने लिम्फ्याटिक प्रणालीमा (Lymphatic System) सिधै असर पुर्याउँछ। साथै सङ्क्रमण मलद्वारमा भएको खण्डमा फिस्टुला जस्तो दिर्घकालिन समस्याहरू देखिन्छन्। विशेष गरी समलिङ्गी तथा तेस्रो लिङ्गिहरूमा लिम्फोग्रानुलोमा भेनेरमको समस्या बढिरहेको छ। यस प्रकारको समस्याले अन्य थुप्रै रोगहरू लाग्नको लागि सहयोग गर्छ। यसर्थ चिकित्सकहरुले यस रोगलाई एक जटिल यौनरोगको रूपमा लिएका छन्।
अन्त्यमा,
पछिल्लो समयमा यौनरोगहरू दिनानुदिन नयाँ नयाँ ढङ्गले विकसित हुँदै गइरहेका छन्। यो क्रम निरन्तर रहिरह्यो भने कुनै समयमा यौनरोगहरूको सङ्क्रमणले ठूलो समस्या बनाउन सक्ने आँकलन गरिएको छ। समय आधुनिक भएका कारण यौन क्रियाकलापमा सक्रिय रहनेहरूले यौनलाई आधुनिक तवरले व्याख्या र विश्लेषण गर्नुले पनि प्रभाव पारेको छ। तसर्थ भयावह अवस्था आउन नदिनको लागि सबैले विशेष ध्यान पुर्याउनु पर्छ। अधिकांश यौनरोगहरू शारीरिक सम्पर्कको माध्यमले सर्ने हुँदा असुरक्षित र अवैधानिक यौनसम्पर्कलाई महत्व नदिनु नै उपयुक्त हुन्छ।


























