काठमाडौँ, १६ साउन। प्रतिनिधिसभाको बैठक साउन २० गतेसम्मको लागि स्थगित भएको छ। संसदको अवरोध खुलाउन भन्दै सभामुख कृष्णबहादुर महराले बिहीबार बोलाएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको हो।
संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सञ्चालन गर्नुपर्छ भन्नेमा सबै दल सकारात्मक देखिए पनि आ–आफ्नै अडानमा कायम रहेपछि सहमति जुट्न नसकेको हो। नेत्र विक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले असार २४ गतेदेखि सदन अवरुद्ध गर्दै आएका छन्।
पौडेलले लालबन्दी नगरपालिका लखनदेहीको जंगलमा प्रहरीसँगको मुठभेडमा मारिएको भन्ने सरकारी दाबी सही नभएको भन्दै कांग्रेसले घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग गर्दे आएको हो।
सर्लाहीकै श्रीनगरस्थित बाँके खोलामा अबैध बालुवा खन्ने क्रममा बनेको खाल्डोमा डुबेर बालक अमितकुमार रायको मृत्यु भएपछि भएको प्रर्दशनका क्रममा प्रहरीे चलाएको गोली लागि सिंहको मृत्यु भएको थियो। बाढी पहिरो सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्नका लागि साउन ८ गतेको बैठक भने सुरु गरिएको थियो ।


























