बाँके, ०७ साउन। बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट फरार भएका दुई थुनुवालाई प्रहरीले पुनः पक्राउ गरेको छ। एक थुनुवा भने अझै फरार छन्। खजुरा गाउँपालिका–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्कीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार भारत जान बाटो खर्च जुटाइसकेको सूचना पाएलगत्तै प्रहरीले निगरानी बढाएको थियो।
घर परिवर्तन गर्दै बसेका उनीहरू भारत भाग्ने तरखर गर्दैगर्दा पक्राउ गरिएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए। खजुरा गाउँपालिका–४ का १८ वर्षीय सिमन विक भने अझै फरार छन्। गएको असार २८ गते राति करिब १२ बजे उनीहरूले शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेका थिए।
उनीहरूमध्ये विक लागुऔषध मुद्दामा असार २७ गते पक्राउ परेका थिए भने थापा र कार्की असार २३ गते सार्वजनिक मुद्दामा पक्राउ परी म्याद थप भएर अनुसन्धानका लागि हिरासतमा राखिएको थियो।


























