क्रिकेट खेलको जन्मदाता इंग्ल्यान्ड पहिलोपटक विश्चविजेता बनेको छ। आइसिसी विश्वकप क्रिकेट २०१९ को आइतबार लन्डनमा भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै आयोजक राष्ट्र इंग्ल्यान्ड पहिलो पटक विश्व च्याम्पियन बनेको हो।
लगातार दोस्रो पटक फाइनलमा पुगेको न्युजिल्याडलाई चौथो पटक फाइनलमा पुगेको इंग्ल्यान्डले पराजित गरेको हो। यसअघी सन् २०१५ मा पनि फाइनलमा पुगेको न्युजिल्याण्ड अस्ट्रेलियासँग पराजित भएको थियो।
त्यस्तै लगातार तेस्रो पटक कुनै आयोजक राष्ट्रले विश्वकप क्रिकेट प्रतियोगिता जितेको छ। यसअघि भारतले २०११ मा र अस्ट्रेलियाले सन् २०१५ मा आयोजना गरेको विश्वकप प्रतियोगिताको उपाधि आफैसँग राख्न सफल भएका थिए।

निकै रोमाञ्चक बनेको यो फाइनल खेलको नतिजा भने धेरैका लागि आश्चर्यजनक र अनपेक्षित रह्यो। आइसिसीको सुपर ओभरको लागि बनाइएको नियमका आधारमा इंग्ल्यान्ड र न्युजिल्यान्ड बीचकोखेल बराबरीमा टुङ्गिए पनि बाउन्ड्रीको आधारमा विजेता तय भएको थियो।
निर्धारित ५० ओभरको खेल पनि बराबरीमा टुङ्गिएपछि निर्णयका लागि सुपर ओभर खेलाइएको थियो। दुबै टोलीले थप एक एक ओभर खेल्दा पनि योगफल बराबरी नै भएपछि आइसिसीको नियमानुसार धेरै बाउन्ड्री लगाउने टीम इंग्ल्यान्ड बिजेता घोषित भएको हो। सुपर ओभरमा इंग्ल्यान्डले २ चौका प्रहार गर्दा न्युजिल्यान्डले एउटा मात्र छक्का प्रहार गर्न सकेको थियो।
शुरुवाती ५० ओभरको खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेट गुमाएर २४१ रन जोडेको थियो। जवाफी ब्याटिङ गर्दै इंग्ल्यान्डले ५० ओभरमा सबै विकेट गुमाएर खेललाई बराबरीमा पुर्यायो। झण्डै हारको नजिक पुगेको टीमलाई सुपर ओभरको बाटो देखाउन इंग्ल्यान्डका ब्याट्सम्यान बेन स्टोक्सको महत्वपूर्ण हात रह्यो। उनले उक्त पारीमा अविजित रही ५ चौका र २ छक्काको मद्दतमा ८४ रन जोडेका थिए।

सुपर ओभरको खेलमा ६ बलमा १५ रनको योगफल तय गर्दा स्टोक्सले १ चौका सहित ८ रन बनाए भने उनीसँगै क्रिजमा उत्रेका जोस बटलरले १ चौका सहित ७ रन जोडे।
यसको जवाफमा मैदानमा उत्रेको न्युजिल्यान्डले पनि ६ बलमा १५ रन नै बनायो। तर यस पारिमा एउटा मात्रै बाउन्ड्री लगाएका कारण न्युजिल्यान्डले उपविजेतामा चित्त बुझाउनु पर्यो।

खेलको अन्तिम बलमा न्युजिल्यान्डका मार्टिन गुप्तिललाई रन आउट गर्न इंग्ल्यान्डका जोनी बेरिस्टोले निर्णायक थ्रो गरे पनि सम्पूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरी खेल जिताउन विशेष भूमिका निभाउने बेन स्टोक्स प्लेयर अफ द म्याच घोषित भए।