काठमाडौँ, २९ असार। बाढीपहिरोमा परी दुई दिनमा देशका विभिन्न भागमा ३९ जनाको मृत्यु भएको छ। ३३ जना बेपत्ता भएका छन्। राजमार्ग डुबाउँदा र कतिपय ठाउँमा पुल नै भत्काइदिँदा आवागमन अवरूद्ध भएको छ।
समयमा राहत र उद्धार हुन नसक्दा पूर्वी र मध्य तराईका सर्वसाधारणको जनजीवन कष्टकर भएको छ। बिहीबार साँझदेखि भएको अविरल वर्षा केही घटे पनि पूर्णरूपमा नरोकिँदा बाढीपहिरो आउने क्रम पनि रोकिएको छैन।
बाढीपहिरोमा ललितपुरमा ६, भोजपुरमा ५, काठमाडौंमा ३, इलाममा १, झापामा ३, ओखलढुंगामा २ र सुनसरीमा १ जनाको मृत्यु भएको छ। बारा, पर्सा र सप्तरीमा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काभ्रेमा ३, रामेछापमा १, सिन्धुलीमा २, मकवानपुरमा ३, धादिङमा २, दाङमा १, चितवनमा १, पाल्पामा १ र डोल्पामा १ जनाको निधन भएको छ।
बिहीबार रातिदेखि नै अविरल वर्षा हुँदा पहाडमा परेको पानीको असर तराई हुँदै भारतीय भूमिसम्म पुगेको छ। पश्चिमको तुलनामा पूर्वी र मध्य पहाडी क्षेत्रमा बढी वर्षा भएकोले त्यसको असर पनि पूर्वी र मध्य तराई क्षेत्रमा नै बढी देखिएको छ।
वर्षाका कारण प्रदेश २ का आठ जिल्लासहित देशभरका ५८ हजार १ सय ४० जना विस्थापित भएका छन्। उनीहरूलाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।

मृतकका परिवारलाई राहत
प्रदेश २ सरकारले बाढीपहिरोमा परी जयान गुमाएकाको परिवारलाई ३/३ लाख रूपैयाँ राहत उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को शनिबार बसेको आकस्मिक बैठकले मृतकका परिवारलाई ३ लाख रूपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई १०/१० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।

यस्तै प्रदेश ३ सरकारले पनि बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई एक/एक लाख रूपैयाँका दरले राहत रकम दिने निर्णय गरेको छ। विपद् व्यवस्थापन निर्देशक समितिको शनिबार बसेको बैठकले रकम दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताए। बैठकले बाढीपहिरोमा परेर घाइते भएकाहरूलाई प्रदेश ३ सरकार मातहत रहेका अस्पतालमा निःशुल्क उपचार गर्नेसमेत निर्णय गरेको छ।