रौतहट, २८ असार। चार दिनदेखि मनसुन सक्रिय भएर भारी वर्षा भएपछि आएको बाढीले बिस्तारै तराईका जिल्लामा असर पार्न थालेको छ। शुक्रबारसम्म राजधानीसहितका पहाडी जिल्ला डुबाएको बाढीले शनिबार रौतहट डुबाउन पुगेको छ। अहिले रौतहट पूर्णरूपमा डुबानमा परेपछि जनजीवन अस्तव्यस्त बनेको छ।
सदरमुकाम गौरमासमेत १० फिटभन्दा बढी पानी जमेको छ। सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेपछि उद्धारकर्मी परिचालनमा कठिनाइ भइरहेको छ। बागमती र लाल बकैया नदीका बाँध विभिन्न स्थानमा फुट्दा सयौँ परिवार विस्थापित भएका छन् भने जिल्लाका सबै सडक सञ्जाल पूर्णरूपमा विच्छेद भएको छ।

सदरमुकाम गौरको पूर्व र पश्चिम दुवैतर्फ रहेका दुई ठूला नदीहरूमा जलस्तर बढ्दो क्रममा रहेपछि स्थानीय त्रसित छन्। झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्याधिक भएर बाढी आउँदा रौतहटको गौर, गरूडा र चन्द्रपुर नगरपालिकासमेत पूर्णरूपमा डुबानमा परेका छन्। शुक्रबार राति गरूडा र सदरमुकाम गौरमा समेत बाढीको पानी पसेको छ।


























