विराटनगर, २५ असार। तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन्। प्रदेश १ का तीन नाका (झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी)बाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन्।
काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्ता ट्रक भित्रिएका छन् भने विराटनगर र भन्टाबारी नाकाबाट पनि उत्तिकै संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएका छन्। सरकारबाट विषादी मापन रोकेको पत्र भन्सारमा सोमबार बिहान आइपुगेकाले तरकारी र फलफूल बिना परीक्षण भित्रिन थालेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताए। प्रदेश १ मा तरकारी र फलफूल सबैभन्दा बढी भित्रिने झापाको काँकडभिट्टा नाका हो।
यस्तै विराटनगर भन्सारबाट पनि सोमबारदेखि पूर्ववत् रूपमा तरकारी र फलफूल बोकेका भारतीय गाडी नेपाल भित्रिएका छन्। काँकडभिट्टा नाकाबाट भित्रिएका फलफूल र तरकारी बिर्तामोडस्थित कृषि थोकबजार हुँदै देशका विभिन्न सहरमा पुर्याइन्छन् भने विराटनगर भन्सारबाट भित्रिएको विराटनगरस्थित गुद्री बजारसहित विभिन्न स्थानमा पैठारी हुन्छ।
संघीय सरकारले असार २ मा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारी सम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो। असार १० गतेदेखि प्रदेश १ का सीमा नाकाबाट आयात हुने तरकारी र फलफूलको विषादीको मात्रा परीक्षण सुरु भएको थियो। लगत्तै विराटनगर र काँकडभिट्टास्थित मेची भन्सारमा तरकारी तथा फलफूल बोकेका ट्रकको लाइन लाग्न सुरु भएको थियो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।
कर्मचारीलाई फुर्सदै फुर्सद
भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी मापन गर्न सुरु गर्दा खाजा खानेसम्म फुर्सद नपाएका प्रदेश १ का लागि झापा बिर्तामोडमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका दुई जना कर्मचारी सोमबारदेखि फुर्सदिला भएका छन्। दैनिक ८० देखि ९० वटासम्म नमूनाको परीक्षणमा खटिनुपर्ने उनीहरूको काम सोमबार दिउँसोबाट घटेको छ। पर्याप्त जनशक्ति नभइरहेका बेला सरकारले भारतबाट भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच्ने नियम बनाएपछि काममा बोझ थपिएको थियो।
नमुना परीक्षणका लागि भन्सारबाट आउन छाडेकाले काम घटेको प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यले बताइन्। ‘आइतबारसम्म कामको चाप थियो। सोमबार सबै भन्सार कार्यालयमा पत्र आएकाले विषादी मापन रोकिएको छ। अब हामी आफैं बजारका तरकारी र फलफूलको नमुना ल्याएर परीक्षण गर्छौं। जुन पहिले पनि गर्ने गरिएको थियो,’ आचार्यले भनिन्।
नमूना नआएपछि कर्मचारीले नियमित जाँचको मात्रै काम सुरु गरेको उनले बताइन्। भारतसँग सीमा जोडिएको पूर्वीनाका काँकडभिट्टा र विराटनगरमा विषादी जाँच गर्ने प्रयोगशाला छैन। पूर्वी नाकामा मेची भन्सार कार्यालयसँगै रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयले आफ्नो प्रयोगशालामा पनि तरकारी तथा फलफूलमा भएको विषादीको मात्रा जाँच्दैन। प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रमुख बाली संरक्षण अधिकृत सुरेशकुमार साह भारतबाट भित्रिने फलफूल तथा तरकारीमा भएको विषादीको मात्रा जाँच्ने अधिकार आफूहरूलाई नभएको बताउँछन्।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रमुख बाली संरक्षण अधिकृत सुरेशकुमार साह भारतबाट भित्रिने फलफूल तथा तरकारीमा भएको विषादीको मात्रा जाँच्ने अधिकार आफूहरूलाई नभएको बताउँछन्।