काठमाडौं– धेरैजसो उत्तर कोरियाका नागरिक भागेर दक्षिण कोरिया जाने गरेका छन्। यसलाई सामान्य रुपमा नै लिने गरिन्छ। तर, यसपटक आमरुपमा केही असामान्य लाग्ने कार्य भएको छ। अर्थात् एकजना दक्षिण कोरियाली नागरिक भने हालै भागेर उत्तर कोरिया पुगेका छन्।
यो दुर्लभ घटना खासमा दुई कोरियाबिचको युद्धपश्चात् आफ्नी पत्नीसहित उत्तर कोरिया बसाइ सरेका दक्षिण कोरियाका पूर्व विदेशमन्त्रीसम्म जोडिन पुग्छ। दक्षिणबाट उत्तर पुगेका व्यक्ति चो इन-गुक उनैका छोरा भएको बताइएको छ।
उत्तर कोरियाको राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार चो इन-गुक प्योङयाङ पुगिसकेका र त्यहाँका अधिकारीहरूद्वारा उनको स्वागतसमेत गरिएको छ। साथै यो पनि जनाइएको छ कि उनी अब उत्तरमा नै बस्नेछन् र कोरिया एकीकरणसम्बन्धी काममा लाग्नेछन्।
दक्षिणको अनुमति बिना उत्तर!
व्यवहारिक रुपमा दुवै देशबीचमा युद्ध नभइरहेको भए पनि १९५१-१९५३ सम्म भएको कोरियाली युद्ध शान्ति सम्झौता भएर औपचारिक रुपमा भने सकिएको छैन। दुई देशका प्रमुख नेताहरुबीचमा पछिल्लो केही समयदेखि यसका लागि राजनीतिक सहमति गर्ने उद्देश्यका साथ भेटघाटहरु पनि भइरहेका छन्। तर, त्यसले हालसम्म मूर्त रुप पाउन सकेको छैन।

औपचारिक रुपमा युद्ध नटुंगिनु तथा एकले अर्को देशलाई असुरक्षित महशुस गर्नुका कारण दुवै देशका नागरिकबीच एकअर्को देशमा सहज आवातजावत गर्ने वातावरण बन्न सकेको छैन।
दक्षिण कोरियाका नागरिकलाई उत्तरको यात्रा गर्नु परे त्यहाँस्थित एकीकरण मन्त्रालयबाट अनिवार्य अनुमति लिनुपर्छ। मन्त्रालयले चोले यसका लागि अनुमति नलिएको स्पष्ट पारेको छ। यस्तोमा चो बिना अनुमति कसरी उत्तर पुगे भन्ने सम्बन्धमा भने केही जानकारी मिल्न सकेको छैन।
उत्तर कोरियाबारे विशेष चासो राख्ने सोलस्थित अमेरिकी सब्सक्रप्सन बेस्ड वेबसाइट एनके न्युजका ओलिभर हाथमले भने, ‘अहिलेसम्म यो पत्ता लाग्न सकेको छैन कि चो कसरी उत्तर पुगे। तर, यदि दक्षिणका जोकोहीलाई यदि उत्तर कोरियाली सरकारको साथ मिलेमा चीन हुँदै प्योङयाङ पुग्नु सामान्य कुरा हो।’
विशेषज्ञहरूका अनुसार चोले सरकारको अनुमति नलिएर कानुन तोडेको भए भविष्यमा उनी दक्षिण कोरिया फर्किएमा पक्राउ पर्न सक्छन्।
को हुन् चो?
७३ वर्षीय चोकी श्रीमती र एक छोरी छन्। उनीहरु भने अहिले दक्षिण कोरियामा नै बस्छन्।
चो दक्षिणकै नागरिक भए पनि उनको राजनीतिक विचारधाराका बारेमा भने खासै जानकारी उपलब्ध छैन।
तर, उनका बुवा भने दक्षिण कोरियाका उच्च अधिकारी रहिसकेका व्यक्ति हुन्। कोरियाली युद्धपश्चात् चोका बुवा पत्निसहित उत्तर गएका थिए।
यसपटक उत्तर पुग्दा त्यहाँका अधिकारीले उनलाई स्वागत समेत गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

उत्तर कोरियाको एक प्रोपोगान्डा वेबसाइट ‘उरीमिनजोक्किरी’ले चोलाई उद्धृत गर्दै उनी सधैंका लागि उत्तर कोरिया रहने लेखेको छ।
‘जुन देशप्रति म आभार महशुस गर्दछु, त्यस्तो स्थानमा रहनु मेरा लागि आफ्ना आमाबुवाको अन्तिम इच्छा पूरा गर्नुजस्तै हो,’ चोले भनेका छन्, ‘यसकारण मैले ढिलो नै सही सधैंका लागि उत्तर कोरियामा नै रहने निर्णय लिएको हुँ।’
दक्षिणका केही सञ्चार माध्यमका अनुसार दक्षिण कोरियामा चोको जीवन सामान्य रुपमा व्यतित भइरहेको थिएन। उनलाई ‘देशद्रोहीका छोरा’जस्ता लान्छनाको सामना गर्नु परिरहेको थियो।
यसैकारण उनले पटक-पटक आफ्नो जागिर परिवर्तन गर्नुपरेको थियो। कतिपय अवस्थामा त उनले उत्तरबाट आफ्नी आमाले पठाइदिएको रकमले समेत जीवन बिताएका थिए।
उनकी आमाको निधन सन् २०१६ मा भएको थियो। पछिल्ला वर्षहरुमा चो पटक-पटक उत्तर पुगेको बताइएको छ। आमाको अन्तिम संस्कारका समयमा पनि उनी अनुमति नै लिएर उत्तर पुगेका थिए।
को थिए चोका मातापिता?
चोका पिता चो तोक-सिन १९६० को दशकमा दक्षिण कोरियाका विदेश मन्त्री थिए। १९७० मा अमेरिका प्रवासमा रहेका उनी दक्षिण कोरियाका सैन्य नेता पार्क चुङ-ही को कट्टर आलोचक थिए।
प्रवासको एक दशकपछि १९८६ मा उनी व्यापक चर्चामा आए जब उनले आफ्ना पाँच वयस्क सन्तानलाई दक्षिणमा नै छोडेर पत्नी रयू मी-योङको साथमा उत्तर कोरिया बसाइ सरे। त्यहाँ दुवैजना विशिष्ट राजनैतिक वर्गमा समावेश भए। चो तोक-सिनको १९८९ मा निधन भएको भयो।
उत्तर कोरियाको नेतृत्वसँग चो परिवारको पुरानो नाता छ। जापानसँगको सङ्घर्षको बेला चो इन-गुकका मावली हजुरबुवा उत्तर कोरियाका संस्थापक किम इल-सुङको सल्लाहकार थिए।
कति छन् यस्ता घटना?
कोरियाली प्रायद्वीपमा देश परिवर्तनको घटना अधिकांश उत्तरबाट दक्षिण जानेको पाइन्छ। देश छोडेर भाग्नु अत्यन्त खतरनाक भए पनि तानाशाहको शासनबाट निस्किएर लोकतान्त्रिक र सम्पन्न देश दक्षिण कोरिया आउनेको संख्या धेरै हुने गर्छ।
दक्षिण कोरियाका अनुसार १९५३ मा कोरियाली युद्ध अन्त्यदेखि हालसम्म ३० हजारभन्दा बढी उत्तर कोरियाली नागरिक गैरकानुनी तरिकाबाट दक्षिण प्रवेश गरिसकेका छन्। तर, यो संख्या हालैका वर्षहरूमा कम भइसकेको छ। २०११ मा यो संख्या २ हजार ७ सय ६ थियो भने २०१७ मा घटेर १ हजार १ सय २७ पुगेको थियो।
यसरी देश छोड्नेहरूले चीनको भूमिको प्रयोग गर्ने गरेका छन्। दक्षिण कोरियासँगको सैन्य निशस्त्रिकृत सीमा क्षेत्र (डिएमजेड)मा कडा सुरक्षा हुनु र उत्तर कोरियाको सिमानाको सबैभन्दा धेरै भाग चीनसँग जोडिनुको कारणले यसरी भाग्नेहरूलाई चीनको भूमि प्रयोग गर्नु सजिलो भएको हो। चीनले भने फेला पारेसम्म यस्ता नागरिकलाई शरणार्थी मान्नुको साटो अवैध प्रवासी मान्छ र जबरजस्ती उत्तर कोरिया पठाइदिन्छ।

दक्षिणबाट उत्तर जाने घटना भने निकै दुर्लभ मानिन्छ। यसमा पनि उत्तर जाने त्यस्ता व्यक्ति हुन्छन् जो यसअघि उत्तरबाट दक्षिण आएका थिए।
कोरियाली प्रायद्विपमा अवैधानिक रुपमा एक देश छोडेर अर्को देशमा पुग्ने सिलसिला सन् ९० को दशकमा बढी थियो। यसको प्रमुख कारण हो उत्तर कोरियामा व्याप्त भोकमरी। भोकमरीका कारण उक्त समयमा हजारौं उत्तर कोरियाली नागरिकले ज्यान गुमाएका थिए।
(यो सामाग्री बिबिसीबाट लगातार न्युजका लागि विनोद अनुजले भावानुवाद गरेका हुन्।)


























