काठमाडौँ, ०९ असार।। गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमै मारिएको दावी गरेका छन्। संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा बोल्दै मन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गर्दै प्रहरीको बचाउ गरेका हुन्।
‘अनटेस्ट मोटरसाइकलसहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ,’ उनले भने।
विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने र जनमानसमा आतंक सिर्जना गर्ने गरेको उनले बताए। त्यसबारे व्यापक जनगुनासो बढेपश्चात जिल्ला प्रहरी कार्यालय सर्लाहीले गस्ती, निगरानी लगायतका गतिविधि बढाउने क्रममा यही असार ५ गते पौडेल मारिएको थापाले बताए।

मन्त्री थापाका अनुसार अन्य तीन जना मुठभेडको क्रममा जंगलतर्फ भागेको र त्यसरी फायर हुनेमध्ये एक जनालाई गोली लागेको आशंका गरिएको छ। फरार व्यक्तिहरुको प्रहरीद्वारा खोजीकार्य जारी रहेको उनले बताए। घटनास्थलबाट मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान बरामद भएको उनको भनाइ छ। साथै बिष्फोटका लागि प्रयोग हुने केही सामाग्री, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ लेखिएको कसैको नाम उल्लेख नगरिएको परिचय पत्र २ सय थान, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल एक थान र अनटेस्ट एफजेड मोटरसाइकल एक थान पनि बरामद भएको गृहमन्त्री थापाले बताए।
सरकारले पौडेल मुठभेडमा मारिएको बताउँदै आए पनि सत्तारुढ दलकै सांसदहरुले त्यसको सत्यतामा शंका गर्दै आएका छन्। आइतबारको राज्यव्यवस्था समितिको बैठकमा नेकपाका सांसद जनार्दन शर्माले मृतक पौडेलको हात भाँचिएर छियाछिया भएको आफूले सुनेको भन्दै सत्य तथ्य जानकारी गृहमन्त्रीबाट लिनुपर्ने बताएका थिए। मानव अधिकार आयोगले पनि पौडेलको मृत्युबारे छानविन गरिरहेको जनाएको छ। पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर–दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए।

























