नरेन्द्रसिंह कार्की – दार्चुला, ३१ जेठ। दार्चुलामा स्याउले बजार नपाउँदा बारीमै कुहिएको छ। उत्पादन गरेर पनि बजार नपाउँदा बारीमै स्याउ कुहिएको व्यास गाउँपालिका–१ छाँगरू गागाका जीतसिंह बोहराले बताए। उनले विगत १६ वर्षदेखि स्याउ खेती गर्दै आएका छन्। नजिक बजार नहुँदा र गाउँबाट बजारसम्म पुर्याउन बाटोको सहज नहुँदा उत्पादित स्याउ कुहिएर खेर गएको उनको भनाइ छ।
‘नेपालतिर बाटो राम्रो छैन। भारतीय बजार पुर्याउन पनि ढुवानी खर्च नै बढी हुन्छ,’ उनले भने, ‘भारतीय सेना र एसएसबीले मात्रै स्याउ खरिद गर्ने गरेका छन्।’ विगतको तुलनामा योवर्ष झण्डै ३० क्विन्टल स्याउ बढी उत्पादन भएको उनले बताए। करिब २० क्विन्टल स्याउ भारतीय सुरक्षाकर्मीलाई बिक्री गरेको उनले बताए। ‘बाँकी १० क्विन्टल स्याउ घरबारीमै कुहिएको छ,’ उनले भने, ‘नजिक बजार छैन, बोकेर अर्को बजार पुर्याउन बाटो छैन।’
स्याउ उत्पादनका लागि सबैभन्दा राम्रो माटो र हावापानी भएकाले राम्रो फल्ने भए पनि बजार अभावले नोक्सानी व्यहोर्नु परेको उनको भनाइ छ। चिनजानका ठेकेदारले भारतीय सुरक्षाकर्मीका लागि स्याउ खरिदगर्ने गरेको उनले बताए। उनका अनुसार गाउँमै प्रतिकिलो ८० भारुमा बिक्री हुने गरेको छ। तर, १० क्वीन्टर स्याउ बारीमै कुहिँदा करिब १० लाखरूपैयाँ घाटा भएको उनले बताए।
व्यक्तिगत लगानीमा स्याउखेती गरेका उनले अहिलेसम्म सरकारी अनुदानसमेत नपाएको गुनासो गरे। सदरमुकामदेखि सबैभन्दा टाढाको दूरीमा रहेको व्यासमा व्यावसायिक स्याउ खेतीको सम्भावना राम्रो भए पनि भौगोलिक विकटले समस्या रहेको अर्का स्थानीय सुधा बोहराले बताइन्। ‘लगानी गरेका छौँ, तर प्रतिफलको लागि बाटोघाटोको समस्या छ,’ उनले भनिन्, ‘नेपालतिर बाटो मात्र निर्माण गरिदिएको भए पनि यहाँको उत्पादनले बजार पाउँथ्यो।’ नेपाली भूमिबाट बाटोको सहजता नहुँदा भारतीय बाटोबाट बजार लैजान सम्भव नभएको उनको भनाइ छ। उत्पादित स्याउको लागि सरकारले चिस्यान केन्द्र (शीतभण्डार)को व्यवस्था गरिदिए पनि कुहिएर खेर जानबाट जोगाउन सकिने उनले बताइन्।
सरकारले व्यास पुग्न नेपालको बाटो निर्माणमा ध्यान नदिँदा व्यासमा उत्पादन भएको जैविक स्याउ बारीमै कुहिने गरेको किसानहरूको गुनासो छ। दार्चुला–तिङ्कर सडक निर्माण होला र व्यासमा उत्पादन हुने स्याउ दार्चुला हुँदै काठमाडाँै लैजाउँला भन्ने व्यासीहरूको सपना पूरा हुने छाँटकाँट भने अझै देखिएको छैन। –रासस


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







