चितवन, २८ जेठ। जेठ १५ गते स्थानीयले डोजर चलाएपछि चितवनमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको विषयमा विवाद चुलियो । पक्ष विपक्षमा विभिन्न खालका टिका टिप्पणी पनि भए । राष्ट्रको गौरवमाथि डोजर चलाइएको भन्दै स्थानीय नेता प्रकाश कँडेल भैरव बस्ताकोटीलगायत १८ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले तत्काल नियन्त्रणमा लियो । अहिले आगामी दिनमा त्यस्ता घटना नदोहो¥याउने, बाटोको लागि जग्गा छाड्ने, स्थानीयले रंगाशाला निर्माणमा सक्दो सहयोग गर्ने, लडाइएको बार आफँैले उठाइदिने विषयमा सहमति भएपछि प्रहरीले नियन्त्रणमा लिइएका सबैलाई रिहा ग¥यो ।
रिहा भएको केही दिनमै मुख्य आरोपी भनिएका प्रकाश कँडेल र भैरव बस्ताकोटीसहितको समूहले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेको छ । उनीहरूले स्थानीय जनताको माग सम्बोधन गर्नुपर्ने विषयमा आवाज उठाउँदा सम्बन्धित निकायले वास्ता नगरेपछि घटना भएको भन्दै आफूहरू रगाशाला निर्माण विरोधी नभएको स्पष्ट पारेका छन् । विकास सँगसँगै विनास नहोस् भनेर सचेत गराउन मात्रै खोजिएको मुख्य आरोपी प्रकाश कँडेलले बताए । तर, अब सबै समस्या समाधान भइसकेकोले रंगाशाला निर्माण कार्य तत्काल सुचारू गर्न फाउण्डेशनलाई आग्रहसमेत गरे ।

रंगाशाला निर्माणको लागि आफूहरू जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको उनले बताए । ‘रंगाशाला निर्माणको लागि आठदेखि १० करोड रूपैयाँ संकलन गर्ने हाम्रो टिमको योजना छ,’ उनले भने, ‘त्यसैले यो रंगाशाला यथाशीघ्र ढंगबाट बन्नुपर्छ। उहाँहरूको साथमा हामी छौँ। ’तर, सामाजिक सञ्चार माध्यम (युट्यब)ले डलर बमाउने लोभमा आफूहरूलाई अपराधी बनाएर गलत प्रचार गरेको उनले बताए । ‘डलरको आसमा जनताको आवाजलाई व्यक्तिगत मुद्धा बनाएर गलत प्रचार गरियो,’ उनले गुनासो गर्दै भने, ‘तर, हामीले किन डोजर चलाइयो भन्ने विषयमा गएको पाइएन । कसरी हुन्छ भावनामा बगेर समाचार बनाउने र पैसा कमाउनेतर्फ मात्रै ध्यान केन्द्रित भएको पाइयो । बनिसकेको रंगाशालामा डोजर चलाएजस्तो प्रचार भयो, यो दुःखद हो ।’
रंगाशाला निर्माणस्थल शान्तिचोकदेखि रामपुरसम्म जोडिने गरी बाटो खोल्ने विषयमा फाउण्डेशन, भरतपुर महानगरपालिका, धुर्मुस–सुन्तली फाउण्डेशन र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबीच बार्ता र छलफल चलिरहेकै बेला बिनानिष्कर्ष जस्ताको बार लगाउने काम भएकोले त्यसलाई रोक्न मात्रै डोजर चलाएको उनले बताए । गलत प्रचारकै आधारमा आफू आवद्ध दलले समेत कारवाही गरेको भन्दै पार्टीप्रति पनि गम्भीर ध्यानाकर्षण भएको बताए । ‘न्यायप्रेमी जनताको आवाज सम्बोधन हुनुपर्छ भन्दा हामीमाथि गरिएको कारवाही अन्यायपूर्ण छ,’ उनले भने। उनीहरूले आफूहरूमाथि भएको कारवाही तत्काल फिर्ता लिनसमेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग माग गरे। भिडियो हेर्नुहोस्: