काठमाडौँ, १३ जेठ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ। आफ्ना कार्यकर्ताको हत्या गरेको भन्दै सोमबार नेपाल बन्दको आह्वान गर्दा देशैभरको जनजीवन प्रभावित बनेको हो। राजधानीसहित देशभरका सबैजसो ठूला सहरहरु सुनसान बनेको छ। शैक्षिक संस्था, सरकारी तथा गैर सरकारी संस्था पूर्णरुपमा बन्द भएका छन् भने सडकमा सवारीसाधन पनि गुडेका छैनन्।
मोटरसाइकल, अटोरिक्सा, एम्बुलेन्स, दूध तथा तरकारीका गाडी भने चलिरहेका छन्। सडकमा भने विप्लवका कार्यकर्ता देखिएका छैनन्। तर, विप्लवका कार्यकर्ताले विभिन्न स्थानमा शंकास्पद वस्तु राख्ने र गाडीमा आगजनी गर्ने काम गराएका छन्। घटना हुन नदिनको लागि नेपाल प्रहरीको टोली मुख्य सडकका चोकचोकमा खटिएका छन्।। यसअघि आइतबार बम बनाउने क्रममा काठमाडौँको विभिन्न स्थानमा सिलिण्डर बिस्फोट हुँदा विप्लवकै कार्यकर्ताको मृत्यु भएको थियो।
चितवनमा प्रेसर कुकर बम, सेनाद्वारा डिस्पोज
चितवनको भरतपुर महानगरपालिका–१५ स्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय नजिकै फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ। सोमबार बिहान फेला परेको बम डिस्पोज गरेको चितवन प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
ट्रकमा आगजनी
मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी गरेको छ। हेटौँडा चौकी टोलमा रोकेर राखेएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो। आगजनीबाट मानवीय क्षति भने भएको छैन। त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुलेखोलामा गएराति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिए।
नौखण्डेबाट हिँडेको ना ६ ख ८००७ नम्बरको ट्रकमा गुडिरहेकै अवस्थामा आगजनी गराएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। यस्तै सोमबार बिहान हेटौँडाको बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरिसकेको छ।
ट्रकमा पेट्रोल बम प्रहार
नवलपुरको मध्यविन्दुमा ट्रकमा पेट्रोल बम प्रहार गरि आगजनी गरेका छन्। मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सविप्लव समूहले पेट्रोल बम प्रहार गरेर आगजनी गराएको प्रहरीले जनाएको छ। बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो । ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन्।
यस्तै नवलपुरकै कावासोती नगरपालिका–१६, स्थित पूर्वपश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गरेर क्षति पुर्याएको नवलपुर प्रहरीले जनाएको छ। नवलपुरकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ। गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीको घरदेखि ३०० मिटरको दूरीमा खेतमा सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्किनु पूर्व नै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।
यात्रुबसमा आगजनी
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन्। गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा आगजनी गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका जिल्ला प्रहरी सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
पोखरामा शंकास्पद वस्तु
पोखराको विभिन्न तीन ठाउँमा शङ्कास्पद वस्तु फला परेको छ। सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरूङले जानकारी दिए। फेला परेका शंकास्पद वस्तु सुरक्षाकर्मीले नयन्त्रणमा लिइसकेको उनले बताए।