म्याग्दी । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन्। बेनी–५ भीरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन्। छोराहरूको मृत्यु भयो। श्रीमतीले दोस्रो विवाह गरेर अन्तै गएपछि आफन्तीको हेलामा परे। त्यसपछि उनी ओढारमा बस्न बाध्य भए।
‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ’, उनले भने, ‘उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन्। हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्न थालेको हुँ।’ राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका छन्।
राहुल बस्ने ओढार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा पर्छ। सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका छन्। शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुललाई बोल्न र कुराकानी गर्न पनि सहज छैन। ‘राहुल विक मेरो भैँसी फार्मसँगै जोडिएको ओढारमा बस्न थाल्नुभएको एक वर्षजति भयो,’ कुरिलाखर्कका सुरेस ढुङ्गानाले भने, ‘उहाँ काम गर्न सक्दिनँ। मलाई यहीँ ठीक छ भन्नुहुन्छ।’
ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्छन्। दिउँसो घाम लागे पनि राति चिसो हावा सीधै ओढारभित्र छिर्छ। उनलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ। रातमा चितुवाको समेत डर छ। कुरिलाखर्ककी बासिन्दासमेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने पौडेलले राहुललाई ओढारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताइन्। -RSS


























