चितवन । नेपालमा लागूऔषधका प्रयोगकर्ताको संख्या करिब एक लाख ३२ हजार पुगेको तथ्यांक सार्वजनिक भएको छ। लागू औषधोपचार र पुनःस्थापनामा कार्यरत संस्थाको राष्ट्रिय भेलाका क्रममा दि रिकोभरी नेपालका कार्यकारी निर्देशक विष्णु फुयाँल शर्माले नेपालको लागूऔषध प्रयोगकर्ताको तथ्यांक सार्वजनिक गरेका हुन्। त्यसमध्ये पनि करिब ५० प्रतिशत विवाहित रहेको उनले बताए।
पछिल्लो समय लागूऔषधको प्रयोग गर्नेहरूमा १६ वर्षदेखि ३० वर्ष उमेर समूहका बढी रहेका उनले बताए। ‘लागूऔषध प्रयोगकर्तामध्ये सुइको प्रयोग गर्ने अधिकांशलाई हेपाटाइटिस ‘बी’को सङ्क्रमण देखिएको छ,’ उनले भने। यसलाई रोक्नका लागि राज्यले पुनःस्थापना केन्द्रलाई क्षमता अभिवृद्धि तालिम, व्यवस्थापनसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। सरकारले पनि लागूऔषध प्रयोगकर्तालाई सुधार गर्ने खालका कानुन आउन नसक्नु दुःखद् रहेको उनले बताए।
सेभ दि चिल्र्डेनका प्रतिनिधि ड्यारेनजी शेर्पाले लागूऔषधसम्बन्धि कानुन परिवर्तन हुन नसक्दा समाजमा ठूलो समस्याका रूपमा लागूऔषध प्रयोगकर्तालाई हेरिने गरिएको बताए। कानुनीरूपमा जाँदा अपराधीका रूपमा हेरिँदा उनीहरूको मनोबल गिर्दै गएको उनले बताए।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले समाजमा हुने गरेका अपराधका क्रियाकलापमा लागूऔषधको हिस्सा रहेको बताए। यसलाई रोगका रूपमा लिएर परिवारबाट समाधान खोज्न सके समाधानको प्रभावकारी उपाय हुने उनले बताए।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले लागूऔषधसम्बन्धि मुद्दा जटिल भए पनि प्रयोगकर्ता कम हुन नसक्नु समस्याका रूपमा रहेको बताए। प्रयोगकर्तालाई अपराधीका रूपमा नहेरी रोगको रूपमा हेरेर समाजबाटै सुधार गर्न सकिने उनको भनाइ थियो।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले समाजमा लागूऔषधको प्रयोगकर्ता बढ्दै जाँदा रोगको रूपमा फैलने भन्दै यसलाई रोक्न सबै एक हुन जरुरी रहेको बताएका छन्। लागू औषधोपचार र पुनःस्थापनामा कार्यरत संस्थाको राष्ट्रिय भेलामा बोल्दै उपप्रमुख अधिकारीले लागूऔषध प्रयोगकर्ताले पुनःजीवन पाएपछि समाजमा फर्कंदा हुने भेदभावको अन्त्य गर्न जरुरी रहेको बताएका हुन्। यसका लागि विद्यालयस्तरबाट सचेतना जगाउन जरुरी रहेको उनले बताए।


























