चितवन । बिहीबारदेखि शुरु भएको आठौँ खिचरामा महोत्सवमा आज शुक्रबार खेलकुदका विभिन्न कार्यक्रमसहित विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछ। आजको मुख्य आकर्षणमा जिल्लास्तरीय सितोरियो कराँते प्रतियोगिता हुने आयोजकले जनाएको छ। नेपाल सितोरियो कराँते डोजो संघ चितवन तथा उपशाखा डोजो पर्सा खैरहनी एवं आठौं खिचरा महोत्सवको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो।
सितोरियो कराँते टुर्नामेन्टका संयोजक जीवन महतोका अनुसार प्रतियोगितामा २२ वटा डोजोका २६० खेलाडीहरुको सहभागी हुनेछन्। खेल शुक्रबार बिहान ९ बजेदेखि शुरु हुँदैछ। बिहीबाररदेखि शुरु भएको भलिबल प्रतियोगितामा दुई खेल सम्पन्न भएको छ। ती दुई खेलमा सेभेन ग्रुप चितवनलाई सेन्ट्रल कलेज भरतपुरले र एनवाइसी हर्नरीलाई रुपीटार नेपाल रसौलीले जितेको छ। आज शुक्रबार ५ खेल हुने शिक्षा तथा खेलकुद समिति संयोजक धनवीर चौधरीले जानकारी दिए।
कार्यक्रममा आज दोस्रो दिन विविध सांस्कृतिक कार्यक्रमसमेत हुँदैछ। राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट विभिन्न खालका नाचगान रहेको आयोजकले जनाएको छ। सांस्कृतिक कार्यक्रम ख्यातिप्राप्त कलाकार तथा स्थानीय कलाकारहरूबाट महोत्सव अवधिभर नै हुनेछ।
यस्तै शुक्रबार विशेषज्ञ चिकित्सकहरुको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। डा. गौरीराम महतोलगायत चिकित्सकले चेकजाँच गर्नेछ। त्यस्तै जिल्लास्तरीय पेहनी होड प्रतियोगिता रहेको छ। लोपोन्मुख थारु साहित्य जगेर्नाका लागि पेहनी होड कार्यक्रम आयोजना गरिन लागेको थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य लक्ष्मणप्रसाद चौधरीले बताए। माघ ४ गतेसम्म हुने महोत्सव बिहीबार उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गरेका हुन्।


























