वि.सं.२०५३ सालदेखि हरेक दुई/दुई वर्षमा आयोजना हुँदै आएको चितवन महोत्सवको १४औँ संस्करण आजदेखि सुरू हुँदैछ। नारायणगढस्थित नारायणी नदी किनार, प्रदर्शनी मैदानमा आयोजना हुँदै आएको महोत्सवको १४औँ संस्करण पनि माघ ४ गतेसम्म अर्थात् १० दिनसम्म सञ्चालन हुँदैछ। महोत्सव सुरू भएदेखि नै कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आएको उद्योग वाणिज्य संघले उद्योग, व्यापार, स्वास्थ्य तथा शिक्षा क्षेत्रको लागि पनि महोत्सवलाई मेरूदण्ड बनाउने प्रयास गर्दै आएको छ। यिनै विषयको पेरिफेरिमा रहेर हामीले महोत्सव मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ, अध्यक्ष श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :
प्रश्न : आजबाट महोत्सव सुरू भएको छ, १० दिनसम्म के–के हुन्छ?
उत्तर : १० दिनको समयमा हामीले धेरै काम गर्ने प्रयास गरेका छौँ। जस्तैकि शिक्षा, स्वास्थ्य, पर्यटन, साहित्य, रोजगार, कृषि, उद्योगलगायतका विविध विषयलाई एकै ठाउँमा पस्कने योजनासहित महोत्सव आयोजना गरेका हौँ। कृषिमा पनि केरा, मह, अण्डा, दूध र कुखुराको राजधानी नै चितवन हो। र, यसबाट ढिलोचाँडो हरेक क्षेत्रमा फाइदा पुगेको हामीले महसुस गरेका छौँ।
प्रश्न : करिब ४५० बढी व्यावसायिक स्टल रहँदै गर्दा अवलोकन गर्न आउनेका लागि यसपटक नयाँ चाहिँ के छ?
उत्तर : खासमा नयाँ र पुरानोभन्दा पनि हामीले महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य भनेको स्वदेशभित्रै रोजगारी सिर्जना गर्न सकून् भन्ने संघको लक्ष्य हो। अझ स्वरोजगारको वातावरण बनोस् भन्ने हो। महोत्सवमा प्रदर्शन गरिएका विभिन्न वस्तुबाट नयाँ उद्यमीको उत्पादन गर्ने हो, त्यसैले महोत्सवमा कसलाई के आवश्यक छ भन्ने कुराले पनि अर्थ राख्छ। कतिपय अवलोकनकर्ताहरू सामान किन्नकै लागि भनेर पनि महोत्सव आउने चलन छ।
प्रश्न : सुरूवातदेखि नै कृषि र पर्यटनमा बढी केन्द्रित भएको हो कि?
उत्तर : समग्रमा व्यापार, व्यवसाय तथा उद्योगको प्रवर्द्धन हाम्रो मुख्य उद्देश्यभित्रै पर्छन्। चितवन कृषि र पर्यटनमा प्रचुर सम्भावना बोकेको ठाउँ भएकोले त्यसलाई बढी प्राथमिकतामा राखिएको हो, किनकि हामीले चितवनको कृषिलाई नै पर्यटनसँग जोड्न सकिन्छ कि भनेर विगतदेखि प्रयास गर्दै आइरहेको कुरा त यहाँलाई विदितै छ। यसपटक पनि कृषि र पर्यटन अलि अगाडि देखिएको मात्रै हो। यहाँ शिक्षा, स्वास्थ्य, पर्यावरण, खेलकुदलगायतका विषयले पनि प्राथमिकता पाएको छ।
प्रश्न : प्रवेशद्वारमै मौरीको प्रतिमा राखिएको छ। यो त अघिल्लो पटकको महोत्सवमा पनि थियो हैन र?
उत्तर : हो, हरेक दुई/दुई वर्षमा महोत्सव आयोजना हुँदै आएकोमा २०७६ को अन्त्यदेखि दुई वर्षसम्म कोरोना भाइरस संक्रमणको जोखिमले सार्वजनिक कार्यक्रम हुन नदिएपछि हामीले २०७७ सालमा गर्नुपर्ने महोत्सवको १३औँ संस्करण २०७८ मा गर्यौँ। त्यो पनि दुई दिनभन्दा चल्न पाएन। र, बीचैमा स्थगित गर्न बाध्य भयौँ। त्यसैले चितवन महोत्सवमा आउने दर्शकको लागि नयाँ विषय भनेर हामीले मौरीको प्रतिमा राखेका थियौँ। तर, संक्रामक रोगको जोखिमका कारण तोकिएको समयसम्म महोत्सव चलाउन नपाएपछि यसपटकको महोत्सवमा हामीले त्यही मौरीलाई थप आकर्षित बनाएर राख्ने प्रयास गरेका छौँ, किनकि चितवन मौरी र महको पनि प्रख्यात जिल्ला हो भनेर पुनर्ताजगी गर्न खोजेका हौँ।
प्रश्न : चितवन महोत्सवले स्वदेशी उत्पादनलाई पनि जोड दिइएको छ हैन?
उत्तर : पक्कै पनि। हामीले सकेसम्म स्थानीयस्तरमै उद्यमी उत्पादन गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्दै आएका छौँ। यसबाट जिल्लाभित्रै उद्यमी उत्पादन गर्न सके चितवनवासीलाई रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता बिस्तारै हट्छ भन्ने हाम्रो मान्यता छ, तसर्थ यहाँले भनेजस्तै स्वदेशी उत्पादनलाई जोड दिनको लागि महोत्सवस्थलभित्र ‘मेड इन नेपाल’ एक्स्पो नै सञ्चालन हुँदैछ। विगत केही वर्षयता हामीले मेड इन नेपाललाई पनि विशेष प्राथमिकताका साथ महोत्सवमा समेट्ने प्रयास गरेका छौँ। यसले स्वदेशी उत्पादनतर्फ आकर्षित गराएको छ।
प्रश्न : धार्मिक पर्यटनलाई चाहिँ कसरी हेर्नुभएको छ नि?
उत्तर : हामीसँग देशकै पवित्र धार्मिक पर्यटकीयस्थल देवघाटधाम यति नजिकै छ, त्यसमा पनि हामीले महोत्सव आयोजना गरेरै ठाउँ पछिल्लो केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको छ। यहाँको डुंगा सयरदेखि सुन्दर दृश्यावलोकन गर्नेहरूको संख्या दिनानुदिन बढ्दै गएको छ। यसले पनि पर्यटन र धर्मसँग विशेष नाता छ भन्ने हामीलाई लागेको छ। त्यसकारण यसपटकको महोत्सवले उत्तरमा देवघादधामदेखि कम्तिमा पनि दक्षिणमा ज्ञानेश्वर सामुदायिक वनको पार्कसम्म धार्मिक पर्यटन प्रवर्द्धन गर्नको लागि मह¤वपूर्ण भूमिका खेल्छ भन्ने हामीले बुझेका छौँ।
प्रश्न : चितवनको खानालाई चिनाउन फुड फेस्टिबल पनि हुँदैछ हैन?
उत्तर : हो, फुड फेस्टिबल चाहिँ हामीले पाँच दिनमात्रै सञ्चालन गर्छौँ। त्यसका लागि क्याम्पाचौरमा तयारी भइरहेको छ। चितवनमा पाइने परिकारलाई देशभर लैजाने योजनासहित केही वर्षयता खाना महोत्सवलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ। यसपटक पनि त्यसले निरन्तरता पाएको छ।
प्रश्न : महोत्सवभित्र पनि महोत्सव गर्नुको अर्थ चाहिँ?
उत्तर : चितवन हरेक दृष्टिकोणबाट विशेष छ। उहाँको विकास नै समग्र देशको विकास हो भन्दा पनि फरक पर्दैन। किनकि चितवनको उत्पादन देशका धेरै जिल्लामा पुग्ने गरेको छ, त्यसैले सबैलाई समेटेर लैजाँदा यसले चितवनकै आर्थिक विकासमा टेवा पुग्छ भन्ने हाम्रो ठम्याइ हो। त्यसैले हामीले महोत्सवभित्र पनि महोत्सव गर्दै आएका छौँ। महोत्सव पनि शिक्षा, स्वास्थ्य, पोल्ट्री, साहित्यलगायतका विषयमा हरेक दिन गोष्ठीका रूपमा प्रस्तुत गर्दैछौँ।
प्रश्न : यसपटक महोत्सवको प्रवशे शुल्क बढाएको हो?
उत्तर : विगतका वर्षमा भन्दा यसवर्ष प्रतिव्यक्ति दश रूपैयाँ टिकट शुल्क बढाएका छौँ। तर, समूहमा आउने विद्यार्थी, समूहमा आउने महिला समूहलगायत सरकारले तोकेका विभिन्न खालका अपाङ्गता भएका तथा वृद्धवृद्धाको लागि हामीले प्रवेश निःशुल्क गराएका छौँ।
प्रश्न : अन्त्यमा….
उत्तर : आजदेखि दश दिनसम्म चितवन महोत्सव सुरू हुँदैछ। यहाँहरू सबैलाई चुल्है निम्तो भन्न चाहन्छु। यहाँहरूको उपस्थितिबिना महोत्सवले सफलता पाउँदैन। त्यसैले आउनुहोस्, अवलोकन गर्नुहोस्। हाम्रोतर्फबाट केही कमिकमजोरी भएको छ भने त्यसलाई प्रतिक्रियाको रूपमा जानकारी गराइदिनुहोस्। ताकि आगामी दिनहरूमा हामी सँच्चिएर अगाडि बढ्ने छौँ।



























