चितवन । श्रीमानले मलद्वारमा लौरो घुसाइदिँदा घाइते भएकी गीता माझीको उपचारको क्रममा मृत्यु भएको छ। श्रीमानले लौरो घुसाइदिँदा योनी र मलद्वारबीचको भाग च्यातिएकी गीताको सोमबार राति ११ बजे भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। गीताको सोमबार नै शल्यक्रिया गरेको थियो। उपचारमा सुधार देखिए पनि एक्कासी मुटुको धड्कन रोकिने समस्याबाट गीताको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकको भनाइ उदृत गर्दै अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए।
खैरहनी-१० कठार घर भएकी गीताका श्रीमान रामचन्द्र भने प्रहरी हिरासतमा छन्। माझी परिवारमा किटानी जाहेरी दिने मान्छे पनि नभएपछि अहिलेसम्म किटानी जाहेरी परेको छैन। जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको छ। सुकुम्बासी माझीको भरतपुर अस्पतालको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन इकाइ (ओसीएमसी)बाट निःशुल्क उपचार हुँदै आएको थियो। गीताको ३ छोरी छन्। एक छोरीको विवाह भइसकेको छ भने दुई जना नाबालक छन्।


























