काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउनका लागि कुटनीतिक पहल भइरहेको बताएका छन्। शनिबार सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकोमा नेपाल सरकार स्पष्ट छ। त्यसैले ती भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल भइरहेको छ।’
देशको राष्ट्रिय हितलाई ध्यानमा राखेर नेपालले परराष्ट्र सम्बन्ध अगाडि बढाउने उनको भनाइ छ। नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध रहेको भन्दै उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत सीमासम्बन्धी विषय संवेदनशील विषय हो। त्यसैले वार्ता र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भन्ने हाम्रो मान्यता छ।’ सीमासम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा समेत उचित स्थान दिइएको उनको भनाइ छ।
Facebook Comments


























