चितवन । रत्ननगर नगरपालिकामा मेयरका उमेदवार प्रल्हाद सापकोटालाई मतगणना सकिनुपूर्व नै बधाईको ओइरो नै लागेको छ। नेकपा एमालेबाट मेयरकी उमेदवार विमलादेवी दुवाडीभन्दा धेरै मतअन्तरले अगाडि रहेका कांग्रेस रत्ननगरका सभापतिसमेत रहेका सापकोटालाई मतगणनाको पहिलो दिनदेखि नै बधाई आउन थालेको हो। शुरुदेखि नै अग्रता कायम गरेका सापकोटाले निरन्तर अग्रता लिँदै जित्ने निश्चित भइसकेपछि सामाजिक सञ्जालदेखि प्रत्यक्ष भेटेरै बधाई दिनेको लर्को लागेको छ।
मतगणनाको अन्तिम नतिजा सार्वजनिक भइनसके पनि सापकोटाको जित भने सुनिश्चित नै भइसकेको छ। यसअघि नेकपा एमालेबाट नारायण वनले जितेको नगरपालिकामा अहिलेको मेयरकी प्रत्यासी दुवाडी उपमेयर थिइन्। तर उनी कांग्रेसका सापकोटाभन्दा ६ हजार बढी मतअन्तरले पछाडि छिन्। यो समाचार तयार पार्दासम्म प्रल्हाद सापकोटाले १८००० मत ल्याइसकेका छन्।
उपमेयरमा भने नेकपा एमालेका यादव पाठक अगाडि छन्। नेकपा एकीकृत समाजवादी पार्टीका उमेदवार बद्रीनाथ घिमिरेभन्दा उनी किरब १००० मतले अगाडि छन्। कुल १६ वटा वडा रहेको रत्ननगरमा ५२६४२ मतदाता रहेकामा ३९४१० अर्थात् ७४.८६ प्रतिशत मत खेसेको थियो।


























