चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ११ कैलाश टोलमा जारी पाँचौँ स्वर्गीय गणेशबहादुर स्मृति जिल्लास्तरीय खुल्ला नकआउट फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ। प्रतियोगितामा आज बुधबारबाट सेमिफाइनल चरणका खेलहरु हुनेछन्। बुधबार हुने दुई खेलमध्ये पहिलो खेल दिउँसो २ बजे टाइगर युवा क्लब र पदमपोखरी फुटबल ट्रेनिङ सेन्टर हेटौंडाबीच हुनेछ भने दिउँसो ४ बजे हुने दोस्रो खेलमा युनिक क्लब ‘बी’ र नारायणी एफसी भिड्नेछन्।
यसअघि मंगलबार पहिलो चरण अन्तिम खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने सबै आठ टोलीको टुङ्गो लागेको हो। पहिलो खेल आयोजक नारायणी मोटर्स युनिक क्लब ‘बी’ र नयाँबस्ती फुटबल ट्रेनिङ सेन्टरबीच भएको थियो। सोमबार भीषण हावाहुरीसहितको वर्षाका कारण स्थगित भएको खेलको दोस्रो हाफ पनि मंगलबार नै खेलाइएको थियो। सोमबार पहिलो हाफ सकिएपछि भीषण हावाहुरीसहितको वर्षाका युनिक ‘बी’ र नयाँबस्तीबीचको खेलको दोस्रो हाफ मंगलबारको लागि सारिएको थियो।
उक्त खेलमा युनिक ‘बी’ ले नयाँबस्तीलाई टाई ब्रेकरमा ५-४ ले पाखा लगायो। त्यसअघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो। दोस्रो हाफको पहिलो मिनेटमा नै गणेश हमालले गोल गर्दै युनिक ‘बी’ लाई अग्रता दिलाए थिए। तर २९औं मिनेटमा आशिष थिङले नयाँबस्तीका लागि बराबरी गोल फर्काए। युनिक ‘बी’ का गोलरक्षक निमशिखर म्यान अफ दि म्याच भए।
मंगलबारको अर्को खेलमा नारायणी एफसीले एफसी भरतपुर ९ विरुद्ध रोमाञ्चक जित हात पारेको छ। नारायणीले एफसी भरतपुरलाई ४-३ ले पाखा लगाएको हो। नारायणीको जीतमा अजय गुरुङले ह्याट्रिक गरे। यस्तै सोम गुरुङले अर्को एक गोल थपे। एफसी भरतपुरका मिलन दुरा र पर्वत श्रेष्ठले एक-एक गोल फर्काए। एफसी भरतपुरले एक गोल उपहार पायो।
नारायणीले सबै चार गोल पहिलो हाफमा गरेको थियो। पहिलो हाफको छैटौं मिनेटमा अजयले गोल गर्दै नारायणीलाई अग्रता दिलाए। १२औं मिनेटमा सोमले नारायणीको अग्रता दोब्बर बनाए। १९औं मिनेमा अजयले व्यक्तिगत दोस्रो गोल गरेपछि नारायणीले ३-० को अग्रता लियो।
२३औं मिनेटमा एफसी भरतपुरका मिलनले गोल फर्काए। २५औं मिनेटमा उसले उपहार गोल पायो। नारायणीका अमृत श्रेष्ठले आत्मघाती गोल गरेपछि खेल एफसी भरतपुरले अग्रता छोट्टायो। २६औं मिनेटमा अजयले ह्याट्रिक गर्दै फेरि नारायणीको अग्रता लम्बाए। दोस्रो हाफको २९औं मिनेटमा एफसी भरतपुरका पर्वतले गोल गरे पनि हार टार्न सकेनन्। ह्याट्रिक गरेका नारायणीका अजय म्यान अफ दि म्याच भए।
मंगलबारको अन्तिम खेलमा आयोजक युनिक ‘ए’ एफसी नौरङ्गेसँग टाइब्रेकरमा ४-५ ले पराजित भयो। प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुबै तर्फबाट एक-एक गोल भएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो, जसमा नौरङ्गेले बाजी मार्यो।
त्यसअघि खेलको चौथो मिनेटमा सुजन बरामले युनिक ‘ए’ लाई अग्रता दिलाएका थिए। नवौं मिनेटमा नौरङ्गेका पदम गुरुङले बराबरी गोल फर्काए। पदम नै म्यान अफ दि म्याच चुनिए।
युनिक क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले एक लाख २० हजार तथा उपबिजेताले ६० हजार प्राप्त गर्नेछन्। सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राइकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीन-तीन हजार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल २४ गते हुनेछ।


























