चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदकी उमेदवार रेनु दाहालले गएको पाँच वर्षमा आफूले गरेको कामको मूल्यांकन गरेर आफूलाई जिताउन आग्रह गरेकी छन्। वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि संयुक्त गठबन्धनकी उमेदवार रहेकी दाहालले भरतपुर महानगरवासीको माग र पार्टीको आग्रहलाई स्वीकार गर्दै पुनः मेयर पदमा उमेदवारी दिएको हुँदा पाँच वर्षमा भएको कामको मूल्यांकन गरिदिन आग्रह गरेकी हुन्।
गएको पाँच वर्षमा थालिएका कामको पूर्णता दिनको लागि पनि गठबन्धनको जित आवश्यक रहेको उनले बताइन्। वर्तमान गठबन्धन गणतन्त्र, संविधान र परिवर्तनका पक्षधर र गणतन्त्र, संविधान र परिवर्तन विरोधीहरूको पक्षधर भएको उनको भनाइ छ। ‘त्यसैले अहिले गल्ती र कमजोरी गर्यौँ भने पछि पछुताउनुको विकल्प छैन,’ उनले भनिन्।

उपप्रमुख पदका उमेदवार एवम् नेपाली कांग्रेस चितवनका नेता चित्रसेन अधिकारीले महानगरलाई देशको मात्र नभएर एसियाकै उत्कृष्ट महानगर बनाउन पाँच दलीय गठबन्धनको नेतृत्वले जित्न आवश्यक रहेको बताए। जनतासँग बसेर काम गर्दैगर्दा कहिलेकाहीँ गल्ती भएको भए पनि त्यसलाई सच्चिने मौका दिएर काम गर्ने वातावरण मिलाउनुपर्ने बताए।


























