चितवन १४ वैशाख । भरतपुर महानगरपालिकाको वडा नं. २९ भतेरीमा यात्रु बस, ट्रिपर र कार ठोक्किँदा २५ जना घाइते भएका छन्। मुग्लिन–नारायणगढ सडक खण्डको भतेरी जङ्गलमा नारायणगढबाट मुग्लनतर्फ जाँदै गरेको ना ७ ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग १ ख ९३०३ नम्बरको ट्रिपर र बीएए ०६८४ नम्बरको कार ठक्कर खाँदा २५ जना घाइते भएका हुन्।
बुधबार दिउँसो करिब ३ बजेको समयमा भएको दुर्घटनामा बस र कारमा सवार यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते सबैलाई उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल र दुईवटा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
ठूलो संख्यामा यात्रु घाइते हुने गरी भएको दुर्घटनाका कारण सडकसमेत अवरूद्ध बन्न पुगेपछि प्रहरी चौकी जुगेडी, इलाका प्रहरी कार्यालय मुग्लिन र वडा प्रहरी कार्यालय नारायणगढको टोलीले तीनवटै सवारीसाधनलाई क्रेनको सहायताले करिब एक घण्टापछि हटाउन सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले दुवैतर्फको सडक खुलिसकेको छ।
घाइते भएकामध्ये १४ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ। बसमा सवार तनहुँ जिल्ला चन्द्रावती गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २० का प्रभु परियार, उदयपुर जिल्ल बस्ने वर्ष १९ का शोभित ससौली, उदयपुर जिल्लाकै वर्ष ३६ का प्रकाश विक, रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नं. २ बस्ने वर्ष ६ की रविना परियार र मकवानपुर जिल्ला कैलाश गाउँपालिका वडा नं. ८ बस्ने वर्ष २४ का विनोद प्रजाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
यस्तै चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १ बस्ने वर्ष ६२ का नीलबहादुर क्षेत्री, काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका बस्ने वर्ष ४४ का कुमार अधिकारी, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २७ की शर्मिला श्रेष्ठ र वर्ष २० की विनिशा श्रेष्ठ, स्याङ्जा जिल्ला विरूवा गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३२ की लक्ष्मी वाग्ले र वर्ष ५ का शिव वाग्लेको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
स्याङ्जा जिल्ला विरूवा गाउँपालिका वडा नं. ५ घर भई हाल चितवन जिल्ला रत्ननगर नगरपालिका टाँडी बस्ने वर्ष ३९ का यमबहादुर आले र वर्ष ५ की आशिका आले र तनहुँ जिल्ला भानु नगरपालिका वडा नं. १२ बस्ने वर्ष ६० का राजु माझकोटीको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
पुरानो मेडिकल कलेजमा आठ जना यात्रुको उपचार भइरहेको प्रहरीले जनाएको छ। जसमा कारमा सवार गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका वढा नं. ३ बस्ने वर्ष ४४ का अरूण पाण्डे, तनहुँ जिल्ला घिरिङ गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३१ का मानबहादुर राना र सोही स्थान बस्ने वर्ष ४५ का मानबहादुर थापामगर छन्। यस्तै कास्की जिल्ला पोखरा महानगरपालिका २९ बस्ने वर्ष २० का सुमन मगर र तनहुँ जिल्ला डुम्रे भन्सार बस्ने वर्ष ३० की राममाया गन्दर्धको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
बसमा सवार चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ५९ का रामबहादुर श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं. ९ बस्ने वर्ष ४० का भेषराज भुसाल र बारा जिल्लाको कलैया बस्ने वर्ष २३ का मुस्ताफा मन्सुरीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
उक्त घटनामा घाइते भएका तीन जनाको भने चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बसका सहचालक नवलपरासी जिल्लाको बुलिङटार गाउँपालिका बस्ने वर्ष २० का सरोज कुमाल, सोही बसमा सवार तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नं. २ बस्ने वर्ष २७ की नीस्ता घले र नीस्ताकी तीन वर्षीया छोरी विनिशाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


























