कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा ७ जना स्वतन्त्र उमेदवारसहित १७ जनाले नगरप्रमुखमा उमेदवारी दिएका छन्। जिल्ला निर्वाचन कार्यालय नवलपुरका अनुसार ठूला दल नेकपा एमाले, नेपाली कांग्रेससहितका राजनीतिक दलहरूले नगर प्रमुखमा उमेदवारी दिएका हुन्। माओवादी केन्द्रले भने प्रमुखमा नेपाली कांग्रेसलाई सघाउने भएपछि उप–प्रमुखमा मात्रै उमेदवारी दिएको छ।
नेकपा एमालेबाट विष्णु भुसालले उमेदवारी दिएका छन्। भुसाल कावासोतीमा यसअघि कावासोती खानेपानी उपभोक्ता समितिका अध्यक्ष र शिव माविका अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन्। २०७४ सालको स्थानीय निर्वाचनमा पनि उनले नगर प्रमुखमा दावी पेश गरे पनि एमालेबाट टिकट पाएका थिएनन्।
नेपाली कांग्रेसबाट भने महेन्द्र पोख्रेलले उमेदवारी दिएका छन्। पोख्रेल यसअघि पनि कावासोती नगरपालिकामा नगर प्रमुखमा नेपाली कांग्रेसबाटै निर्वाचनमा होमिएका थिए। त्यतिबेला नेकप एमालेसँग पराजित हुन पुगेका उनी यसपटक भने नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट पुनः नगर प्रमुखमा होमिएका छन्।
यहाँ नगर प्रमुख पदमा कांग्रेस, एमालेबाहेक सत्ता गठबन्धनकै नेकपा एकीकृत समाजवादी, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र सामाजिक एकता पार्टीले नगर प्रमुखमा उमेदवार खडा गरेको छ।
सत्ता गठबन्धनमा सहमति जुट्न नसकेपछि नेकपा एकीकृत समाजवादीका तर्फबाट नगर प्रमुखमा सालिकराम भट्टराईले उमेदवारी दिएका छन्। उनी नेकपा एकीकृत समाजवादीका नवलपुर जिल्ला अध्यक्षसमेत हुन्। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुखका आकांक्षी थिए।
त्यसैगरी राप्रपाबाट गुणाखर काफ्ले, राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धिबहादुर सारुमगर, विवेकशील साझा पार्टीबाट केशवप्रसाद अधिकारी, मंगोल नेशनल अर्गनाइजेशनबाट गोपाल गुरूङ र सामाजिक एकता पार्टीबाट धनबहादुर गुरूङले नगर प्रमुखमा उमेदवारी दिएका छन्।
स्वतन्त्र उमेदवारी दिएका सातमध्ये ३ जना नेपाली कांग्रेसकै वागी उमेदवार हुन् भने नेकपा एमालेका कावासोती नगर कमिटी अध्यक्ष रामकृष्ण ढुंगानाले पनि वागी उमेदवारी दिएका हुन्। कांग्रेसबाट कमलराज गुरौ, नारायणप्रसाद पन्त र बालकृष्ण पाण्डेले स्वतन्त्र उमेदवारी दिएका हुन्।
त्यसैगरी लोकप्रसाद काफ्ले, माधवप्रसाद लम्साल र पत्रकार अमितकुमार विश्वकर्माले स्वतन्त्ररुपमा उमेदवारी दिएका छन्। कावासोतीमा नगरप्रमुख पदमा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिप्रधा हुने देखिएको छ।


























