बुटवल, फागुन २९ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गरेकाछन्।
सत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हाशिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर धकेल्ने प्रयास गरेको समेत उनले आरोप लगाए। एमालेको दवावपछि स्थानीय निर्वाचनको मिति तय गरिएको समेत उनको भनाइ छ। उनले गठबन्धन दल निर्वाचनबाट भाग्न सबै उपाए खोजेपनि जनताको र एमालेको दवाव थेग्न नसकेर चुनाव हुने पक्का भएको बताए।
एमालेप्रति जनताको आर्कषण देखेर सत्ता गठबन्धन दलहरुले एक्लै चुनाव लड्ने स्थितिमा पुगेको उनले बताए। गुल्मी रुरु क्षेत्र–रुपन्देही सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आज (आइतबार) उनले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिएकाछन्।
नेकपा एमाले मुलुकको पहिलो शक्तिका रुपमा स्थापित हुने दावी गर्दै उनले नेता कार्यकर्तालाई निर्धक्क भएर निर्वाचनको तयारीमा लाग्न आग्रह समेत गरे।
उनले एमाले एक्लै चुनाव लडेर मुलुक भरका स्थानीय तहमा जित हाशिल गर्ने सुनिश्चि भएको दावी गर्दै त्यसको प्रमाण एमाले बाहेका दलहरुको गठबन्धनको तयारी र प्रधानमन्त्री समेतले गठबन्धन दललाई नचिडाउँन दिएको निर्देशनले काग्रेस समेत एमालेसँग एक्लै चुनाव लड्न सक्दैन भन्ने प्रमाण भएको बताए।
उनले एमाले सरकारले गरेका काम जनतासम्म मात्रै पुराउँदा एमाले बाहेकका दललाई जनतासँग भोट माग्न जाने हैसियत नहुने पनि उनको भनाइ छ। वर्तमान सरकारले मुलुकमा बाह्य हस्तक्षेप बढाउने काम गरेको नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आरोप लगाए।
उपमहासचिव ज्ञवालिले अहिलेको सरकारकै कारण मुलुकको आर्थिक अवस्था टाँट पल्टिने अवस्थामा गईरहेकोप्रति चिन्ता समेत व्यक्त गरे। गठबन्धन सरकार बनेपछि मुलुकले आर्थिक घाटा व्यहोर्नुका साथै मुद्रा स्थिति दर चिन्ताजन अवस्थामा गएकोमा दुःख व्यक्त गर्दै बढ्दो मङ्गी र मुलुक आर्थिक संकटमा पर्दा पनि सरकार र सत्ता गठबन्धन दलहरु गम्भीर नभएको उनको आरोप छ।
त्यस्तै एमसीसीको विषयमा जनतालाई भ्रमित गर्ने काम गरेको उनले असन्तुष्टि जनाए। सत्तारुढ दलभित्रै एमसीसीका विषयमा धारणा फरक र द्वयद चरित्र देखिएको बताउँदै उनले सो विषयमा संसदमा छलफल गर्ने वातावरण समेत नगराएर पारित गर्नु दुःखद भएको उल्लेख गरे।
त्यस्तै, सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लिला गिरीले नेता कार्यकर्ताहरुलाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तीब्रताका साथ लाग्न आग्रह गरे।
मुलुकलाई निकास दिने र वैकल्पिक शक्ति नै नेकपा एमाले भएको दावी गर्दै उनले जनताको साथ पाउनेमा ढुक्क हुन समेत आग्रह गरे।


























