काठमाडौं, फागुन २२ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक ढिला गरी सुरु भएको हो।
बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदले अवरोध गरेका छन्। उनीहरूले पार्टीले कारबाही गरेको १४ सांसदको सूचना टाँस गर्नुपर्ने माग गर्दै आएका छन्। उनीहरू ‘संसदीय सर्वोच्चता कायम गर’ भन्दै नाराबाजी गरेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदको विरोधबीच बैठक सञ्चालन गरेका छन्। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन, आ. व. २०७७/७८’ पेस गर्ने कार्यसूची छ।
यस्तै, सभामुखले नेपालको संविधानको धारा १०१ को उपधारा (३) र (४) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिमको महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए।


























