काठमाडौँ, फागुन १४ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले कोरोना महामारी विश्वव्यापी साझा समस्या भएको जनाउँदै खोपलाई सबैको पहुँचमा र सस्तो बनाउन विश्व समुदायलाई आव्हान गरेका छन्।
विश्वव्यापी खोपको लागि ग्याल्भेनाइजिंग मोमेन्टमको उच्च–स्तरीय कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उनले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो आधार भएको बताए। खोपलाई सबैको पहुँचमा पुर्याउन यसको प्रवर्द्धनमा ध्यान दिनुपर्ने उनले जनाए।
परराष्ट्रमन्त्री खड्काले विशेष गरी गरिब देशहरूमा कोरोना महामारीले ठूलो आर्थिक क्षति गरेकोतर्फ ध्यानाकर्षण गरेका थिए। गरिव देशहरुको आर्थिक उन्नतीको लागि धनी देशहरुले सघाउनु पर्नेमा उनले जोड दिएका थिए।
‘हामीले यसै वर्षको अप्रिलसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने लक्ष्य राखेका छौँ,’उनले नेपालको खोप अभियानका बारेमा जानकारी दिए। कार्यक्रममा उनले नेपाललाई खोप उपलब्ध गराउने छिमेकी र अन्य मित्र राष्ट्रहरू, विकास साझेदारहरूप्रति आभार प्रकट गरेका थिए।


























