काठमाडौं, फागुन १२ । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको भविष्य समाप्त भएको संकेत गरेका छन्।
बिहीबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले गठबन्धनबाट पार नलाग्ने निस्कर्ष निक्लिएको बताए। उनले एमसीसीबारे गठबन्धनका दलहरूबाट देशलाई ध्रुवीकरण गराइएको बताए। एमसीसीबाहेक अन्य विषयमा गठबन्धन एक ठाउँमा उभिनसक्ने अवस्था नआउने उनको भनाइ छ।
थापाले गठबन्धन संकटमा परेसँगै प्रतिपक्ष दल एमालेसँगको सहकार्यमा संसद् अघि बढाउने बताए। यसका लागि कांग्रेसले संसद् खुलाउन पहल गरिरहेको छ। उसले एमालेले राखेको मागहरूको विषयमा कांग्रेसले एमालेसँग संवाद अघि बढाउने भएको छ।
“यो विषयबाहेक बाँकी रहेको अन्य विषयमा एक ठाउँमा उभिन्छौँ भन्ने अवस्था रहँदैन,” उनले भने “यो गठबन्धन अघि जाने विषयमा समस्या आयो। सदनको अवरोध खोल्ने कुरामा छलफल गरेर अघि बढौँ भन्ने सहमति भयो।”


























