नवलपरासी । प्रहरीले विभिन्न मुद्धामा फरार पाँच जना अभियुक्तलाई पक्राउ गरेको छ। नवलपरासी जिल्ला अदालतबाट २०५६ देखि २०७० सालसम्म विभिन्न मितिमा फैसला भएर पनि फरार रहेका पाँच जना अभियुक्तलाई नवलपरासी जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार जालसाजी मुद्धाका दुई, सवारी ज्यान मुद्धा र चोरी मुद्धाका एक/एक जना तथा कुटपिट मुद्धाका एक जनालाई पक्राउ गरी आवश्यक कारवाही गरिएको हो। बर्दघाट नगरपालिका, प्रतापपुर गाँउपालिका र सरावल गाँउपालिकाअन्तर्गत विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए।
पक्राउ गरिएका सबै अभियुक्तलाई आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरी सोही अदालतबाट लगतअनुसारको कारबाही भएको समेत उनले बताए।
प्रहरीको तथ्यांकानुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतसमेतबाट २०७८ मंसिर २८ गतेदेखि हासम्म विभिन्न मुद्धाका १४८ जना फरार अभियुक्त पक्राउ गरिसकिएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए।


























