काठमाडौं, फागुन ७ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु बढीमा एक वर्षमात्रै रहेको बताएका छन्। अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने बताएका हुन्।
शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरुलाई आगामी निर्वाचनमा पानीमा गएपनि आफ्नो पार्टीले नछाडने चेतावनी दिए।
अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गरे। प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको आग्रह छ।
उनले भने, ‘अब एक वर्षभित्र चुनाव हुनैपर्छ। बच्ला कहाँ पानीमुनि गएपनि यो स्वार्थी गठबन्धन। यो कहाँ बच्छ? बच्न सक्दैन। त्यसकारण अब त बढीमा एक वर्ष हो यिनको आयु। संसारभरीका ज्योतिषलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ –बढीमा एक वर्ष हो आयु यो सरकारको। त्यसो भएर अहिले म धेरै समय नलिऊँ।’
अध्यक्ष ओलीले निर्वाचनमा प्रशासनको दुरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढन आफ्नो पार्टी सक्षम रहेको दावी समेत गरे। उनले निर्वाचनमा जनताको मतलाई खोस्न नदिने गरी अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए।
अध्यक्ष ओलीले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप समेत लगाएका थिए।


























