चितवन । भरतपर महानगरपालिकाकी मेयर रेनु दाहालले निर्माण व्यवसायीलाई महानगर क्षेत्रभित्र सञ्चालित कुनै पनि योजना निर्धारित मितिभित्रै सम्पन्न गर्न निर्देशन दिएकी छन्। सघन शहरी विकास तथा भवन निर्माण आयोजना, सडक डिभिजन कार्यालय र भतपुर महानगरले सञ्चालन गरेका निर्माणाधीन आयोजनाहरु समयमै सम्पन्न गरी नगर विकासको अभियानलाई सार्थक बनाउन निर्देशन दिएकी हुन्।
वाहानाबाजी गरेर काममा ढिलाई गर्ने छूट निर्माण व्यवसायीलाई नभएको भन्दै उनले भनिन्, ‘महानगरमा विकासका लागि बजेट पार्नभन्दा पनि निर्माण कार्य सम्पन्न गर्न ठूलो चुनौति देखियो।’ निर्माण व्यवसायीले गरेको कामबाट आफू सन्तुष्ट नभएको भन्दै निर्धारित मितिमा काम सम्पन्न नगरे समय थप नगर्ने चेतावनीसमेत दिइन्। निर्माण व्यवसायीलाई परेको समस्या समाधानमा महानगर जुनसुकै बेला पनि तयार रहेको भन्दै दाहालले इमान्दारीपूर्वक काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरिन्।
निर्माण व्यवसायीहरुले भने खानेपानी, वन तथा विद्युतका कारण निर्माण कार्यमा ढिलाई भएको बताए। माटो र ग्राबेलको अभावका कारण पनि समयमै काम सकाउन चुनौति थपिएको निर्माण व्यवसायीको भनाइ छ। महानगरले भने प्रक्रिया पुर्याएर कबिलासमा ६ ठाउँमा नदीजन्य पदार्थ उत्खन्नको अनुमति दिने र नदीमा ठेक्का लगाउने बताइन्।
महानगरकी उपमेयर पार्वती शाह ठकुरीले निर्माण व्यवसायीलाई इमान्दारीपूर्वक समयमै राम्रो र गुणस्तरीय काम गरेमात्र महानगरले गरेको मिहिनेत खेर नजाने बताइन्। चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले एक/अर्काबीच दोष लगाएरभन्दा पनि सबैले समन्वय गरेर विकासको काम गर्न सुझाव दिए। आवश्यक समन्वय र शान्ति सुरक्षाका हकमा प्रशासन तयार रहेको भन्दै निर्माण कार्य गर्दा गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरे। गुणस्तरहीन काम गर्ने र समयमै काम नगर्नेहरुमाथि प्रशासन कडा बन्न बाध्य हुने चेतावनी दिए।
भरतपुर महानगरपालिकाभित्र सघन शहरी विकास तथा भवन निर्माण आयोजनाको प्याकेज नम्बर १ र २ अन्तर्गतको शहीदचोक-धर्मचोक-कचपचेचोक सडक र पुलचोक रिङरोड सडकको काम सन्तोषजनक छैन। उक्त सडकको अधुरा काम पनि चैत्र २५ गतेभित्र सम्पन्न गराउने निर्देशन दिइएको मेयर दाहालले बताइन्। यस्तै प्याकेज नम्बर ३ अन्तर्गत बसपार्कको सम्पूर्ण निर्माण कार्य १५ दिन भित्र सम्पन्न गर्न आग्रह गरिएको उनले बताइन्।
देवघाटस्थित शवदाह गृहको निर्माण प्रगति पनि सन्तोषजनक नदेखिएकाले यसलाई तीव्र गतिमा काम गराइ हरेक ७ दिनमा प्रगति विवरण संकलन गरेर महानगरमा बुझाउन निर्माण कम्पनीलाई निर्देशन दिइएको छ।


























