चितवन, फागुन २ । भरतपुर आँखा अस्पतालमा थप एकसय शय्याको सुविधा दिन सोमबार नयाँ भवनको शिलान्यास गरिएको छ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालमार्फत जनरल वार्ड, बालरोग कक्ष तथा शल्यक्रिया भवनको शिलान्यास गरिएको हो। उक्त भवन निर्माणको काम सकाउन करिब १४ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिए पनि हाललाई चार करोड १२ लाख ५० हजार ५९३ रुपैयाँको टेण्डरमार्फत काम गराउने गरी शिलान्यास गरिएको भरतपुर आँखा अस्पतालका प्रशासक दयाशंकर चौधरीले जानकारी दिए। उक्त भवन निर्माण सम्पन्नपछि हाल सञ्चालनमा रहेको ६२ शय्यासँग १६२ शय्यामार्फत एकसाथ उपचार सेवा दिन सकिने उनले बताए।
अबको एक दुई दिनमा निर्माणकार्यको सुरु गरिने उनले बताए। निर्माण थालेको ६ महिनामा पहिलो चरणको काम सम्पन्न गराउने लक्ष्य रहेको उनको भनाइ छ। उनका अनुसार तीन तलाको उक्त भवन निर्माण सम्पन्न भएमा भुईँतलामा पेडियट्रिक वार्ड, पहिलो तलामा जनरल वार्ड र दोस्रो तलामा अपे्रशन थियटर सञ्चालन हुनेछ। भरतपुर आँखा अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै आँखासम्बन्धी विभिन्न खालका समस्या लिएर आउने बिरामीलाई थप सेवा दिनुपने भएकोले सेवा सुविधा विस्तार गर्न आवश्यक संरचना निर्माण गर्नुपरेको उनको भनाइ छ।
नयाँ भवनबाट पनि सेवा सञ्चालन भएपछि आँखाको समस्यासम्बन्धी सेवा लिनुपर्ने व्यक्तिहरुका लागि जिल्ला बाहिर जानुपने बाध्यता हट्नुका साथै नजिकमै सेवा पाइने उनले बताए। हाल भरतपुर आँखा अस्पतालमातहतका अस्पताल तथा उपचार केन्द्रबाट दैनिक सरदर सातसयदेखि आठसय जनासम्मले नियमित सेवा लिँदै आएका छन्। तीमध्ये भरतपुरको बाइपास रोडमा रहेको अस्पताल भवनबाट मात्रै दैनिक पाँचसयदेखि छसय जनाले सेवा लिँदै आएका छन्। भरतपुर आँखा अस्पतालले चितवनसहित छिमेकी जिल्लाहरु धादिङ, नवलपुर, पर्सा र सिन्धुलीबाट पनि उपचार केन्द्रमार्फत सेवा दिँदै आएको छ।
कुल १४ वटा उपचार केन्द्र रहेकामा तीनवटा अस्पताल नै सञ्चालनमा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् नेत्रज्योति संघका सभापति कृष्णराज धरेलले बताए।


























