काठमाडौं, माघ २९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यथास्थितिमा एमसीसी अघि बढाउन नसकिने अडान दोहोर्याएका छन्।
शनिवार बिहान सत्ता गठबन्धनका तीन शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो। छलफलमा एमसीसी कार्यान्वयनमा आएको अमेरिकी दबाबको बारेमा पनि छलफल भएको बताइएको छ।
‘तीन जना नेताहरूबीचको भेटमा एमसीसीकै बारेमा छलफल भएको हो। यथास्थितिमा एमसीसी अगाडि बढाउन नसकिने अडान प्रचण्ड र माधव नेपालले दोहोर्याउनुभएको छ,’ ती नेताका सचिवालयले भनेको छ, ‘सर्वपक्षीय सहमति नबन्दासम्म एमसीसी थाती राखौं भन्नेबारेमा छलफल भएको छ। तर, प्रधानमन्त्री त्यसका लागि राजी भइसक्नुभएको छैन।’
शनिवारको भेटमा एमसीसी संसदमा लैजान जबर्जस्ती प्रयास नगर्न पनि प्रधानमन्त्री देउवालाई दुई नेताले अनुरोध गरेको उनीहरूको सचिवालयले बताएको छ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले टेलिफोन गरेर एमसीसी अघि बढाउन दबाब दिएपछि तीन शीर्ष नेताहरूबीच भएको यो दोस्रो भेट हो। उनीहरूले बिहीवार बिहान पनि एमसीसीका सन्दर्भमा बालुवाटारमा छलफल गरेका थिए।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद बैठक फागुन ४ गते राख्न भनेको उनको सचिवालयले बताएको छ।
नेकपा एमालेले फागुन २ को बैठक सार्न माग गरेकाले संसद बैठक फागुन ४ गते बोलाउँदा उपयुक्त हुने प्रचण्डले बताएका थिए।
फागुन २ मा एमालेले प्रदेश–१ स्तरीय प्रशिक्षण आयोजना गरेको र सांसदहरू त्यसमा सहभागी हुन जानुपर्ने भएकाले संसद बैठक सार्न सभामुखलाई अनुरोध गरेको छ।
पुस पहिलो साता यता संसद बैठक निरन्तर सर्दै आएको छ।


























