माघ २२ । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले एमालेलाई समाप्त पार्ने विषाक्त विचार बोकेर गठबन्धन बनेको बताएका छन्।
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसमा सम्बोधन गर्दै नेता पोखरेलले भने, ‘संविधान, कानुन तथा मूल्यमान्यताहरू जहाँसुकै जाउन, यस आधारमा गठबन्धन बनेको छ। यसको केन्द्रीय उद्देश्य भनेको एमालेलाई कमजोर बनाउने, एमालेलाई समाप्त पार्ने । त्यस्तो एउटा विषाक्त विचार बोकेर गठबन्धन बनेको छ।’
गठबन्धनले आर्थिक विकास समृद्धिका एजेन्डालाई मतलब नराखेको उनको आरोप छ। उनले गठबन्धन सरकारले सामाजिक सद्भाव राष्ट्रिय स्वाभिमान तथा स्वतन्त्रतासित गाँसिएका मुद्दाहरूलाई वास्ता नगरेको पनि बताए। देशको विकास गर्नुपर्छ भन्ने सपनाहरूलाई मूर्छित बनाउन काम गठबन्धन सरकारले गरेको उनले सुनाए।
रणनीतिक महत्त्वका १४ सय बढी सडकहरूको निर्माण र साढे ३ सय बढी स्थानीय तहमा अस्पताल बनाउन केपी ओली सरकारले सुरु गरेको प्रक्रिया गठबन्धन सरकारले रोकेको उनको आरोप छ।


























