माघ १२ । राष्ट्रियसभा निर्वाचनमा देशभर मतदान सुरु भएको छ। प्रदेशगतरूपमा भइरहेको निर्वाचनमार्फत १९ जना निर्वाचित हुनेछन्। मधेस र वागमतीमा २/२, प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट ३/३ जना निर्वाचित हुँदैछन्।
निर्वाचन आयोगले विहान ९ देखि ३ बजेसम्म मतदान समय निर्धारण गरेबमोजिम सबै प्रदेशमा समयमै मतदान सुरु भएको छ। राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन्। मुलुकभरबाट ५३२ प्रदेशसभा सदस्य तथा स्थानीयत प्रमुख र उपप्रमुखहरुले मतदान गर्नेछन्।
प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख र उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर र प्रदेशसभा सदस्यको लागि वाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान सुरु भएको छ।
प्रदेश २ को लागि महेन्द्र नारायण निधी भवन, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान सुरु भएको छ।
यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेशसभा भवन धनगढीमा मतदान सुरु भएको छ।


























