काठमाडौँ, माघ ६ । बिहीबार दिउँसा ४ बजे प्रधानमन्त्री निवास बालुवटारमा बस्ने गरी तय भएको सत्ता गठन्धनका पाँच दलको बैठक स्थगित भएको छ।
प्रधानमन्त्रीको सचिवालयले बैठकमा सहभागी हुने नेता कोरोना संक्रमणको कन्ट्याक ट्रेसिङमा परेका कारण बैठक स्थगित भएको दाबी गरेको छ। बैठकमा स्थानीय तह र प्रतिनिधिसभाको चुनाव कहिले गर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच समान धारणा बनाउने एजेण्डा तय थियो।
संविधान र कानुनी व्यवस्थाअनुसार स्थानीय तहको चुनाव आउँदो वैशाखमा गर्नुपर्ने भए पनि सत्ता घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
दाहालले स्थानीय तहको चुनाव कात्तिक मंसिरमा गरेर संसदको चुनाव वैशाखमा गर्न सकिने विकल्प अघि सारेका हुन्। स्रोतका अनुसार दाहालको प्रस्तावको विषयमा कांग्रेस र एकीकृत समाजवादीले धारणा तय गरिनसकेकाले छलफलका लागि भन्दै बैठक रोकिएको स्रोतको दाबी छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनै तहको चुनाव एकैपटक गर्नुपर्ने धारणा राख्दै आएका छन्। दाहालले पनि उक्त कुरा बताउँदै आए पनि पछिल्लो समय स्थानीय तहको चुनाव स्थगित गरेर संघको चुनाव गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्।


























