चितवन, पुस ८ । वंश विस्तार गर्ने उद्देश्यले यहाँ ल्याइएका अर्ना बचाउन मुस्किल भएको छ। विसं २०७३ का माघमा कोशीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना काठमाडौँबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याइएको थियो।
चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनमा दुई खुल्ला खोर बनाएर अर्ना राखिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार यसवर्ष साउनयता १० अर्ना मरेका छन्। तत्कालीन समयमा कोशीटप्पुबाट १२ र चियाखानाबाट तीन अर्ना ल्याइएको थियो। तीमध्ये ६ अर्ना बाढी र बाघका कारण मरेका थिए। विसं २०७४ का बाढीमा पाँच अर्ना मरेको थियो, भने एउटा बाघले खाएको थियो। त्यसयता चार पाडापाडी जन्मिएका थिए। उनका अनुसार यसवर्ष ६ भाले र ४ पोथी मरेका हुन्। खोरमा तीन वटा पोथी मात्र बाँकी छन्।
विसं २०७५ को साउन ३१ गते पहिलो बच्चा जन्मिएको थियो। समूह बनाएर सत्रुसँग लड्नसक्ने भएपछि खुल्ला ठाउँमा छोड्ने उद्देश्यका साथ अर्ना ल्याइएका हुन। प्रमुख संरक्षण अधिकृत आचार्यले ५०सम्म अर्ना हुनसकेमा उनीहरुले खुल्लाठाउँमा सत्रुसँग लडेर जोगिन सक्छन्। निकुञ्जमा रहेको सङ्ख्या कम हुँदा छोड्नसक्ने अवस्था नरहेका कारण समस्या भएको हो। उनको भनाइमा कोशीमा बगेको पानी खाएका अर्ना यहाँ खोरभित्रको तलाउ र घाँसे मैदानमा लामो समय बस्न कठिन भएको देखिन्छ। उनले भने,“उपयुक्त बासस्थान र खानाकै कारण समस्या भए जस्तो देखिन्छ।” ठूलो सङ्ख्या भएर छिटो छोड्न सकेमा सफलता मिल्ने उनको अनुमान रहेको छ।
सन् १९६१ ताका यहाँ अर्ना रहेको बताइन्छ। त्यसयताको लामो समयमा वातावरणीय प्रभाव परिवर्तन भएका कारण पनि अर्ना टिक्न कठिन भएको हुनसक्ने बताइन्छ। निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठ पछिल्लो पटक मरेको अर्नामा निमोनिया देखिएको बताए। बासस्थान रहेको क्षेत्रमा बाढीका कारण प्रभाव परेको र बिरामी परेर अर्ना मरेको उनको भनाइ छ।
मरेका अर्नाको एकीन कारण पहिचानका लागि नमूना राखिएको छ। पूर्ण परीक्षणपछि थप कारण पत्ता लाग्ने निकुञ्जले जनाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कँडेल यसैवर्ष अर्ना स्थानान्तरण गर्ने विषयमा प्रस्ताबको तयारी गरेको बताए। उनको भनाइमा पाँच महिना मात्र राखेर बथान वनाएर छोड्न मिल्ने गरी अर्ना ल्याउनुपर्दछ।
त्यसरी ल्याइएका अर्नालाई रेखदेखका लागि थप जनशक्ति परिचालन गरी पोसिलो खानाको व्यवस्था गरिने कँडेलले बताए। उनले भने, “छिट्टै अर्ना स्थानान्तरण गरेर वर्षात्सम्ममा खुल्ला ठाउँमा छाड्नसक्ने गरी कामका लागि प्रस्ताव गर्दैछौं।” छोटो समय विशेष निगरानीमा राखेमा उपयुक्त हुने उनको भनाइ छ।
एक ठाउँमा मात्र अर्ना भएकाले रोगव्याधि र समस्या देखिएमा मासिन सक्ने भएकाले अन्यत्र स्थानान्तरण गर्नुपर्ने विभागको योजना रहेको छ। कंडेलले वथान वनाएर छोड्दा उनीहरुले चाहेको जस्तो बासस्थान पाउने भएकाले यसबाट बंश विस्तार गर्न सहज हुने जानकारी दिए। तत्कालीन समयमा २५ वटा अर्ना ल्याउने भनिए पनि कम सङ्ख्या ल्याएकै कारण समस्या भएको हो। अब ल्याउदा दुई/तीनवटा भाले ल्याउने र अन्य पोथी ल्याउने विभागको तयारी रहेको छ।
अर्ना तीन/चार वर्षको उमेरपछि प्रजननयोग्य हुने गर्दछ। अर्ना स्वच्छ पानी, दलदल र घाँसे मैदानमा रमाउने गर्दछ। अर्ना भैँसी प्रजातीको हुने हुनाले सोही अनुसारको ब्याउने चक्र हुनेगर्दछ। यसको सरदर आयु २५ वर्ष हुने विज्ञहरु बताउछन्। रासस


























