काठमाडौँ, पुस २ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ।
दिउँसो साढे १ बजे बुद्धनगरस्थित एक होटेल (अल्फा बिटा) मा पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न लागिएको हो।
पत्रकार सम्मेलनलाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्। ‘एमाले महासचिवका हैसियतमा उहाँ (पोखरेल) ले केन्द्रीय कमिटी बैठकका निर्णय सुनाउनुहुन्छ र पत्रकारसँग अन्तरक्रिया गर्नुहुन्छ।’ रिजालले खबरहबसँग भने, ‘महासचिवको हैसियतमा पोरखेलको यो पहिलो औपचारिक सम्बोधन कार्यक्रम पनि हो।’
पत्रकार सम्मेलनमा महासचिव पोखरेलसहितका पदाधिकारी, स्थायी कमिटी र केही केन्द्रीय कमिटी सदस्यसमेत उपस्थिती रहनेछ। केन्द्रीय कमिटी र सबै पत्रकारका लागि पार्टी कार्यालय च्यासल साँघुरो हुने भएपछि बाहिर कार्यक्रम गर्नुपरेको बताइएको छ।
हालै भक्तपुरमा बसेको एमालेको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकले सातै प्रदेश र केही जिल्लामा इन्चार्ज तथा अध्यक्ष चयन गरेको थियो।


























