चितवन ०१ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रसँग भएको भनिएको ‘पाँच बुँदे सहमति’ प्रमाणित गरेर देखाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिएका छन्। बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति भएको थियो भन्ने कुरा शतप्रतिशत झुटो भएको दाबी गर्दै केपी ओलीले प्रमाणित गर्न नसके नेपाली जनतासँग माफी माग्नु पर्नेसमेत बताएका छन्।
केपी ओलीले आफ्नो दरिद्र राजनैतिक चरित्रमात्र प्रदर्शन गरेको प्रचण्डको आरोप छ। केपी ओली एमाले गुटका अध्यक्ष भएको भन्दै ओलीले झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई आफ्नै अभिव्यक्तिबाट प्रष्ट पारेको प्रचण्डको भनाइ छ।
‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन्।’
म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु।’
केही दिनअघि सेयर बजारको विषयमा अभिव्यक्ति दिएपछि प्रचण्डमाथि केपी ओली खनिएका थिए। सोही विषयमा केपी ओलीलाई विज्ञप्तिमार्फत उत्तर दिँदै आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेकोसमेत प्रचण्डको दाबी छ। नेपालको शेयर बजारका सन्दर्भमा माओवादी पार्टीभित्रका लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको समेत उनले स्पष्ट पारेका छन्। ‘दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु,’ विज्ञप्तिको अन्तिममा भनिएको छ।
Facebook Comments


























