काठमाडौँ, पुस १ । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्। दुईजना सभापतिका लागि ७ जना उम्मेदवार चुनावी मैदानमा थिए।
बुधबार राति सम्पन्न मतगणनामा खड्काले २१२१ मत पाए भने गुरुङले १९०८ मत पाए। तेस्रो स्थानमा रहेका विजयकुमार गच्छदारले १९०६ मत पाए। उनी ८ मतले पराजित भएका छन्। चौथो स्थानमा रहेका डा.चन्द्र भण्डारीले १५८० मत पाए।
झिनो मतान्तरले पराजित भएपछि गच्छदारले मत परिणाम घोषणा गर्न निर्वाचन समितिलाई रोकेकाले औपचारिक घोषणा हुन बाँकी रहेको छ। आफै मतगणना स्थल पार्टी कार्यालयमा उपस्थित हुने आफ्ना प्रतिनिधिलाई गच्छदारले सन्देश पठाएको बुझिएको छ।
खड्का शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुन्। देउवा कांग्रेस सभापतिमा निर्वाचित भइसकेका छन्।उपसभापतिमा विजयी खड्का निवर्तमान महामन्त्री हुन् भने गुरुङ केन्द्रीय सदस्य थिए। गुरुङ नेविसंघका पूर्व अध्यक्ष हुन्।


























