काठमाडौँ, मंसिर २९ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु हुँदैछ। सभापतिको मतगण्ना सम्पन्न भइसकेको छ। अरु पदको मतगण्ना अब सुरु हुँदैछ। निर्वाचन समितिले बुधबार उपसभापति पदको मतगण्ना सुरु गर्दैछ। पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए। उनले अहिले साढे ४ बजेसम्म मतगण्ना सुरु हुने जानकारी दिए।
२ जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन्। विजयकुमार गच्छदार, पूर्णवहादुर खड्का, धनराज गुरुङ, डा.चन्द्र भण्डारी, महेश आचार्य र दिव्यश्वरी शाह र सुजाता कोइराला उम्मेद्वार छन्। सभापतिमा विजयी शेरबहादुर देउवाको प्यानलबाट गच्छदार र खड्का तथा सभापतिमा पराजित डा.शेखर कोइरालाको प्यानलबाट भण्डारी र गुरुङ उम्मेदवार छन्।
निर्वाचन समितिले उपसभापतिको गणना सकिएपछि महामन्त्रीको गणना गर्ने जनाएको छ। १३४ सदस्यीय कार्यसमिति महाधिवेशनले चयन गर्नेछ। ती मध्ये सभापतिमा देउवा विजयी भएका छन् भने केन्द्रीय सदस्यमा आनन्द ढुंगना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन्। अब १२९ पदको मतगणना हुन बाँकी छ। मतगण्ना सम्पन्न हुन एक हप्ता लाग्न सक्ने निर्वाचन समितिले जनाएको छ।


























