काठमाडौँ, मंसिर २६ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी मनोनयन फिर्ता लिने समय डेढ घण्टा थपेको छ।
यसअघि सार्वजनिक गरिएको कार्यतालिका अनुसार आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरिएकोमा थप डेढ घण्टा समय बढाएर साढे १२ बजेसम्म पुर्याइएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए।
उनका अनुसार अहिलेसम्म २ जनाले मात्र उम्मेदवारी फिर्ता लिएका छन्। प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएका हुन्।
उनले उम्मेदवारी फिर्ता लिएपछि प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएको उनले बताए।आफ्नो असहमतीमा नै उम्मेदवारी दर्ता गराइएको भन्दै नेता मीन विश्वकर्माले पनि उम्मेदवारी फिर्ता गरेका छन्।
आइतबार बिहान नेता विश्वकर्माले फिर्ताका लागि निर्वाचन समितिमा निवेदन दिएका थिए। सभापति शेरबहादुर देउवाको प्यालनबाट पदाधिकारीमा उम्मेदवारी दिन लागेका विश्वकर्मा सो टिममा अटाएका थिएनन्।


























