चितवन, मंसिर १६ । चितवनमा भोलि शुक्रबारदेखि फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले बिहीबार कार्यालयमै पत्रकार सम्मेलन गरेर फोटोसहितको मतदाता नामावली संकलनबारे जानकारी गराएको हो। कार्यालयले स्थानीय पालिका र पालिकाका वडा कार्यालयहरुलाई केन्द्रको रुपमा कर्मचारी खटाएर नामावली संकलन गर्न लागेको हो। कार्यालयले यसको लागि २१ जना कर्मचारी खटाएको छ।
यसअघि छुटेका व्यक्तिले आफ्नो नागरिकतासहित स्वयम् व्यक्ति सम्बन्धित स्थानमा उपस्थित भई नामावली संकलन गराइदिन कार्यालयका प्रमुख एवम् जिल्ला निर्वाचन अधिकृत भिमसेन कार्कीले आग्रह गरे। नयाँ नागरिकता लिनेहरुका लागि जिल्ला प्रशासन कार्यालयबाटै मतदाता नामावली संकलन कार्य भइरहे पनि यसअघि छुटेकाहरुका लागि स्थानीय तह र तिनका वडा कार्यालयहरुमा गएर पुनः संकलन गर्न लागेको उनले बताए।

जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली संकलन गर्दै।
कहाँ-कहाँ हुँदैछ संकलन ?
जिल्ला निर्वाचन कार्यालय चितवनले भरतपुर महानगरपालिकाको लागि जिल्ला निर्वाचन कार्यालयबाटै यो सेवा दिँदैछ। अन्य पालिकाहरुमा भने सम्बन्धित पालिकाबाटै संकलन गर्नुपर्नेछ। दुई चरणमा हुने यस कार्यक्रमअन्तर्गत नामावली संकलन कार्य माडी, कालिका र इच्छाकामनामा शुक्रबारदेखि पुस २ गतेसम्म चल्नेछ। बाँकी स्थानीय पालिकामा भने पुस ४ गतेदेखि १८ गतेसम्म चल्नेछ। त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट भने निर्वाचन घोषणा नभएसम्म निरन्तर चलिरहने उनले बताए।
गत निर्वाचनमा कति थिए मतदाता ?
चितवनमा गएको निर्वाचनको स्थानीय र प्रदेश तथा प्रतिनिधि सभामा सहभागी भएका मतदाताको संख्या फरकफरक छ। जिल्ला निर्वाचन कार्यालय चितवनको तथ्यांकअनुसार उक्त समयमा स्थानीय निर्वाचनमा चितवनमा तीन लाख १३ हजार तीन जना मतदाता थिए। यो संख्या प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा बढेर तीन लाख ५४ हजार ३६ पुगेको थियो।


























