चितवन, मसिर ९ । चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकाछन्। पर्यटकीय नगरी सौराहामा पत्रकारहरुसंग मेयर वनले बागमती प्रदेशबाट पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकाहुन्।
चितवनका लोकप्रिय नेता वन पार्टीको बागमती प्रदेश कमिटी सदस्य समेत हुन्। मेयरको कार्यकाल अन्तिम चरणमा आइरहदा वनले पार्टीको केन्द्रीय सदस्यमा गरेको उम्मेदवारी घोषणालाई अर्थपूर्ण रुपमा हेरिएको छ। २०३५ सालबाट विद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालको जनमत संग्रहमा सहभागी तथा २०४६ सालको आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए।
२०४३ सालमा इलाका पार्टी सदस्य पदमा रहेर काम गर्नुभएका वनले २०४९ सालमा पार्टीको चितवन जिल्ला कमिटी सदस्य बनेका थिए। २०५४ सालको स्थानीय निकायको निर्वाचनमा मेयरमा सानदार जित हासिल गरी उनले रत्ननगरको विकासलाई उचाईमा पुर्याएका थिए। रत्ननगर नगरपालिकाका संस्थापक मेयर समेत रहेका थिए। वन २०६० सालमा पार्टीको जिल्ला सचिवालय सदस्य बने।
रत्ननगर अस्पताल, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रेडियो चितवनको संस्थापक अध्यक्ष समेत रहेका वन २०७४ सालको स्थानीय तहको निर्वाचनमा दोस्रो पटक मेयर पदमा विजयी हासिल गर्न सफल भए। निर्वाचनमा पार्टीले जारी गरेको घोषणापत्रलाई आधार बनाएर विकासका गतिविधि अगाडि बढाउनु भएका मेयर वनले शिक्षा,स्वास्थ्य,पर्यटनको विकासमा उदाहरणीय काम गरेकाछन्।
पार्टीको विचार, सिद्धान्त र विचारलाई आत्मसाथ गरी राजनीति अगाडि बढाउदै आएका मेयर वनले गरेको कामप्रति नगरबासीहरु सन्तुष्ट छन्। नेकपा एमालेको दसौं महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ। नारायणी नदी किनारमा उद्घाटन र पर्यटकीय नगरी सौराहामा बन्द सत्र हुँदैछ।


























